Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

माइनस डिग्रीको चिसोमा पनि कोरला नाकामा पुग्छन् दैनिक १०० भन्दा बढी पर्यटक

माइनस डिग्रीको चिसोमा पनि कोरला नाकामा पुग्छन् दैनिक १०० भन्दा बढी पर्यटक

मुस्ताङ :  समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका अवलोकन गर्न दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । हिउँदयामको चिसो मौसममा समेत जोमसोम–कोरला सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) न्हेचुङले जनाएको छ ।

पछिल्ला केही वर्षयता नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय केन्द्र बन्दै गएको छ । जोमसोमदेखि कोरला नाकासम्मको ११० किलोमिटर दूरी तय गर्दै पर्यटक कोरला नाका अवलोकनका लागि आउने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले जानकारी दिए । सडकमार्ग हुँदै कोरला नाका पुगेका पर्यटकको बीओपी न्हेचुङ चेकपोस्टले दैनिक अभिलेख राख्ने गरेको उनले बताए ।
भारतीय नाकाबन्दीपछि नेपाल–चीन कोरला नाकामा पर्यटकीय चहलपहल सुरु हुन थालेको हो । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुन थालेपछि कोरला नाका अवलोकन गर्न पर्यटक उपल्लो मुस्ताङ पुग्ने गरेका छन् ।

हिउँदयाम सुरु भएसँगै उपल्लो मुस्ताङको तापक्रम माइनसमा झर्न थालेको छ । नाका क्षेत्रमा झनै अत्यधिक चिसो बढेको छ । यद्यपि अत्यधिक चिसोको प्रवाह नगरी आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेका छन् । गर्मीयाममा भने कोरला नाका अवलोकन गर्न उल्लेख्य सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गर्छन् । कोरला नाका अवलोकन गर्न पुगेका पर्यटकले नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित २४ नं सिमास्तम्भ नजिक फोटो, भिडियो र टिकटक बनाउने गर्छन् । हिउँदयाममा पनि कोरला नाकामा पर्यटक तथा व्यापारिक चहलपहलको रौनक देखिन्छ ।

कोरला नाकामा पर्यटक लक्षित करिब १०० भन्दा बढी स्थानीय त्रिपालमुनि व्यापार गर्न बसेका छन् । उनीहरू दैनिक आलोपालो गरी सवारीसाधनको सङ्ख्याअनुसार नाकामा आएका पर्यटकलाई चिनियाँ सामान बिक्री गर्ने गर्छन् । गत असोज ११ गतेको भारी हिमपातले कोरला नाकाको सीमाक्षेत्रमा हिउँ पग्लिएर हिलाम्मे भएकाले सवारीसाधन, मालवाहक कन्टेनर र पर्यटकलाई निकै असहज भएको छ ।

कोरला नाका अवलोकन गर्न आउने पर्यटक चीनतर्फका ठूला–ठूला भौतिक संरचना देखेर खिन्न हुने गर्छन् । नेपालतर्फ भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह, एकीकृत सुरक्षा पोस्टलगायत व्यापारिक प्रतिष्ठानका पूर्वाधार नहुँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।

कोरला नाकामा विद्युत् र इन्टरनेटको सुविधा नहुँदा त्यहाँ पुग्ने पर्यटकलाई समस्या हुने गरेको लोमान्थाङ–५ का तेञ्जिङ गुरुङले बताए । नाकामा बोरिङबाट पानी निकाल्ने व्यवस्था गरिएको भए पनि खानेपानीको समस्या यथावत् रहेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको पहुँच पुर्‍याए पनि नाकामा विद्युत् वितरण हुन नसकेकाले पर्यटक, कन्टेनर चालक र स्थानीय व्यापारीलाई समस्या भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट