Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

सदस्य सचिव शर्मालाई पदमुक्त नगर्न उच्च अदालनको अन्तरिम आदेश

सदस्य सचिव शर्मालाई पदमुक्त नगर्न उच्च अदालनको अन्तरिम आदेश

पोखरा  : उच्च अदालत पोखराले प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्मालाई पदमुक्त गर्ने प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

सोमबार कायममुकायम मुख्य न्यायाधीश हरिप्रसाद पौडेल र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले दुवै पक्षको बहस सुनेपछि रिटको अन्तिम टुंगो नलाग्दासम्म शर्मालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । 

यस्तै, सोधिएको स्पष्टीकरण र छानबिन समितिको प्रतिवेदन निर्णयसमेत कार्यान्वयन नगर्न नगराउन आदेश दिइएको छ । शर्माले गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश खेलकुद परिषद् पोखरालगायतलाई विपक्षी बनाई उच्च अदालतमा उत्प्रेषण परमादेशसहितका दुईवटा रिट निवेदन दायर गरेका थिए । 

सुरुमा शर्माले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गत असोज १ गते सोधेको स्पष्टीकरण र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको साउन २५ गतेको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका थिए । यो विषयमा छलफलका लागि अदालतले २०८३ मंसिर २ गतेको पेसी तोकेको थियो । 
तर, अदालतले तोकेको छलफलको मिति आउनुअगावै प्रदेश सरकारले २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार शर्मालाई पदमुक्त गरिदियो । सरकारको उक्त निर्णयविरुद्ध शर्माले पुनः उच्च अदालत पोखरामा अर्को रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले मंसिर गते पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

सोमबार दुवै रिटमाथि एकसाथ सुनुवाइ भएको थियो । रिटको अन्तिम टुङ्गो नलाग्दासम्म निवेदकलाई स्पष्टीकरण माग गर्ने र छानबिन समितिको निर्णय कार्यान्वयन नगर्न नगराउन उच्च अदालत नियमावली, २०७३ अनुसार अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी नहुँदा सुविधा सन्तुलनको दृष्टिबाट निवेदकलाई अपूरणीय क्षति पुग्न सक्ने अदालतको ठहर छ । 

यसैगरी, सोही रिटसँग सम्बन्ध रहेको अर्को हकमा अदालतले अघिल्लो रिटमा जारी भएको अन्तरिम आदेशको आधार र कारणसमेतबाट मंसिर १ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरेको छ । योसँगै शर्मालाई नियमित काममा बाटो खुला भएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट