काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त जानकारी दिएका हुन् ।
भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबिच भएको औपचारिक तथा अनौपचारिक छलफलमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । निम्तो स्वीकार गर्दै भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा चाँडै नै नेपाल आउने प्रतिबद्धता जनाएको मन्त्री खनालले बताए ।
यसैगरी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले समेत नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेकी छन् । प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई पशुपतिनाथको दर्शनका लागि समेत नेपाल आउन निमन्त्रणा दिएका छन् । निमन्त्रणाप्रति दुवै शीर्ष नेतृत्वले सकारात्मक इच्छा व्यक्त गरेको मन्त्री खनालले उल्लेख गरे ।
दुवै देशका परराष्ट्र मन्त्रालयबिचको आवश्यक सहकार्य र समन्वयमा छिट्टै भारतका तर्फबाट उच्चस्तरीय भ्रमण हुने विश्वास मन्त्री खनालले व्यक्त गरे । ‘हामी पक्कै पनि अब हाम्रा दुईवटा मन्त्रालयहरूले यसमा सहकार्य गरेर छिट्टै नै भारतका तर्फबाट उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान गराउँछौँ,’ उनले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij