Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

राम–सीताको नगरी जोडिँदै, जनकपुर–अयोध्या रेल सेवाको आज शुभारम्भ

राम–सीताको नगरी जोडिँदै, जनकपुर–अयोध्या रेल सेवाको आज शुभारम्भ

जनकपुर : माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक सेतुलाई भौतिक रूपमै थप मजबुत बनाउने विश्वास गरिएको छ।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ।उत्तर रेल्वे, लखनउ, मण्डल रेल प्रबन्धक कार्यालयद्वारा जारी निमन्त्रणाअनुसार अयोध्या रेल्वे स्टेसनमा आयोजित विशेष समारोहमा ‘नयाँ वन्दे भारत एक्सप्रेस’ रेललाई आज दिउँसो हरियो झन्डा देखाएर सेवा सुरु गरिनेछ। भारतीय प्रेस इन्फर्मेसन ब्यूरो (पिआइबी) का अनुसार भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालनका लागि स्वीकृति दिएको हो। करिब ६०४ किलोमिटर दूरी तय गर्ने यस रेल सेवाले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै दुई ऐतिहासिक नगरीलाई जोड्नेछ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा यो रेल सातामा एकपटक सञ्चालन हुनेछ। निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ।त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट छुटी मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्ने पराजुलीले जानकारी दिए। यात्रुको सुविधाका लागि जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी तोकिएका छन्।

रामायणसँग जोडिएका दुई पवित्र नगरीबीच सीधा रेल सम्पर्क स्थापित हुँदा श्रद्धालुको आवागमन सहज हुनुका साथै रामायण सर्किटको अवधारणा प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। हाल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल चलिरहेको छ र सोही सञ्जाललाई आधार बनाएर यो विशेष सेवा सुरु गर्न लागिएको हो।रेल सेवा सञ्चालन हुने भएपछि स्थानीय राजनीतिक दल तथा सरोकारवालाले खुसी व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका नेता तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्र बनाउन यो रेल सेवा कोसेढुङ्गा साबित हुने बताए। यसले मधेस प्रदेशको कृषि, उद्योग, व्यापार र जनस्तरको सम्बन्ध विस्तारमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न रेल सेवाले सघाउने धारणा राखे। पर्यटकको आगमन बढेसँगै होटल, यातायात, पथप्रदर्शक र हस्तकला व्यवसायीले प्रत्यक्ष लाभ लिने उल्लेख गर्दै उनले पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, आवास र सुरक्षा व्यवस्थापनमा सुधार गर्नुपर्ने सुझाव दिए।जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले लामो समयको पहलपछि रेल सेवा कार्यान्वयनमा आउनु सकारात्मक भएको बताए। सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशका सरकारबीच नीतिगत निर्णय, प्रशासनिक समन्वय र पूर्वाधार व्यवस्थापन आवश्यक रहेकोमा उनले जोड दिए।यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धनुषाका संयोजक दीपक यादवले रामायणकालीन स्थललाई एकीकृत पर्यटन मार्गका रूपमा विकास गर्ने योजनाअन्तर्गत भएको यो पहलले धार्मिक पर्यटन र रोजगारी सिर्जनाका नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट