काठमाडौं : एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गरेको छ।कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा आइतबार भएको खेलमा युएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रन बनाए। उनले ५६ बलमा ६ चौका र एक छक्का प्रहार गरे। त्यस्तै, मयंक यादवले २७, बासिर अहमदले अविजित १८ र पवन सर्राफले अविजित ९ रनको योगदान दिए। नेपालका अर्जुन कुमाल पाँच र देव खनाल शून्य रनमा आउट भए। कुशल भुर्तेल ५७ रन बनाएर पेभेलियन फर्किए भने मयंक यादवले २७ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। युएईका मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए भने हरप्रीत सिंहले ३२ रन जोडे। नुरुल्लाह अयोबीले १२ रन बनाए।
नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन विकेट लिए। लामिछानेले १० ओभरमा तीन मेडन राख्दै ११ रन मात्र खर्चिए। त्यस्तै, भुर्तेलले पाँच ओभरमा १५ रन दिए। ललित राजवंशी, नन्दन यादव र राशिद खानले एक–एक विकेट लिए। यसअघि पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार व्यहोरेको नेपालले युएईलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
आठ टोली सहभागी प्रतियोगितामा नेपालले समूह चरणको अर्को खेल पाकिस्तान ‘ए’ विरुद्ध खेल्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij