Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी

काठमाडौं : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि बानियाँविरुद्ध पक्राउ अनुमति लिएको हो । बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि उनीविरुद्ध गत साता नै अदालतबाट पक्राउ अनुमति लिइएको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।यसअघि फरक मुद्दामा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पनि पक्राउ गर्न सीआईबीले अदालतबाट अनुमति लिएको थियो ।

२०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार छन् । कात्तिक १६ मा उनका छोरा दिक्षान्त बानियाँलाई सीआईबीले पक्राउ गरेको थियो । छोरामाथि अनुसन्धान भइरहेको मुद्दामा पूर्वमुख्यमन्त्री पनि जोडिएका हुन् । प्रभु बैंकबाट लिएको ३४ करोड ऋण बानियाँका बुबा–छोराले दुरुपयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सीआईबीका एक जना अधिकृत भन्छन्, ‘जुन प्रयोजनका लागि ऋण लिइएको थियो, त्यसअनुसार प्रयोग नभएर अन्यत्र लगानी गरी अपचलन गरेको देखिन्छ ।’

बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा बैंकबाट ३४ करोड ऋण निकासा भएको थियो । सो रकम उनले अन्य बैंक खातामा राखेर तथा सेयरमा लगानी गरेर तोकिएको प्रयोजनमा प्रयोग नगरेको भेटिएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार त्यसरी प्रयोजनविपरीत क्षेत्रमा कर्जाको दुरुपयोग गर्न मिल्दैन । इन्द्र बानियाँ बानियाँ निर्माण सेवा प्रालिका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट