काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा आइतबार दिउँसो काठमाडौँको हवाई ट्राफिकको दृश्य प्रत्यक्ष उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा विशेष चर्चाको विषय बनेको छ । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्दा एकातिर उनको जहाज विश्वभरमै सबैभन्दा बढी प्रत्यक्ष हेरिएको उडान बनेको देखाएको छ । फ्लाइट राडार २४ को प्रत्यक्ष विवरणअनुसार प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको ‘एयरबस ए–३२०’ (उडान नम्बर आरए २१७ र कल साइन आरएनए २१७) जहाज काठमाडौँबाट दिल्लीका लागि दिउँसो १ बजेर ४५ मिनेटमा उड्ने निर्धारित समय रहे पनि २३ मिनेट ढिलो गरी दिउँसो २ बजेर ८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।
भारतीय समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दिल्ली अवतरण गर्ने तालिका रहेको उक्त जहाज ३ बजेर २० मिनेटमा पुग्ने अनुमान ट्र्याकरमा देखाइएको छ । उडान लगत्तै यो जहाज फ्लाइट राडार २४ मा विश्वकै ‘नम्बर एक’ सर्वाधिक ट्र्याक गरिएको उडान बनेको थियो, जसलाई एकै पटक २ हजार २ सय १५ जनाले प्रत्यक्ष हेरिरहेका थिए ।
राडारको नक्सामा उक्त जहाज विमानस्थलबाट उडेर कोटेश्वर हुँदै ललितपुरको लगनखेल र जावलाखेल (सदर चिडियाखाना) क्षेत्रको आकाशबाट भैँसेपाटीतर्फ मोडिँदै दिल्लीको बाटो समातेको देखिएको छ, जहाँ उडानको सुरुवाती ७ किलोमिटर दूरी पार गर्दा दिल्ली पुग्न ८ सय ११ किलोमिटर (करिब १ घण्टा २५ मिनेट) बाँकी रहेको विवरण अङ्कित थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij