रौतहट : दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै मनाउने मधेसको मौलिक लोकपर्व सामा–चकेवा पछिल्लो समय लोप हुँदै गएको छ।छठ पर्वको खरनादेखि सुरु भई पूर्णिमासम्म मनाइने यस पर्वमा दिदीबहिनीहरूले माटोबाट सामा, चकेवा, चुगला, सतभइया र वृन्दावनलगायतका आकृति बनाएर विभिन्न रङले सजाउने गर्छन्। साँझपख सामूहिक रूपमा लोकगीत गाउँदै नाचगान गर्ने परम्परा यस पर्वको मुख्य विशेषता हो।सामा–चकेवा दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र पारिवारिक सम्बन्धको प्रतीक मानिन्छ। यस पर्वको अन्तिम दिन दाजुभाइको हातबाट माटाका प्रतिमा फुटाई बाजागाजासहित विसर्जन गर्ने परम्परा रहेको छ।
रौतहटसहित मधेसका विभिन्न जिल्लामा मनाइने यो पर्व आधुनिकता र बदलिँदो जीवनशैलीका कारण पछिल्लो समय ओझेलमा पर्दै गएको छ। नयाँ पुस्तामा लोकसंस्कृतिप्रतिको आकर्षण घट्दै जाँदा यसको मौलिकता र परम्परा संकटमा परेको छ।मधेसको सांस्कृतिक पहिचान बोकेको सामा–चकेवा पर्वको संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तह, विद्यालय तथा सांस्कृतिक अभियन्ताहरूले विशेष पहल गर्न आवश्यक देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij