रौतहट : छोरा सम्पर्कविहीन भएको जानकारी गराउँदै खोजी तथा उद्धारका लागि फोन गरेका प्रहरी हवल्दारलाई गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि रौतहट प्रहरीले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोमाथि आफूलाई प्रहरी सहायक निरीक्षक ९सई० बताउँदै अर्का हवल्दार सुरेशप्रसाद यादवलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लागेको हो।सन्तपुर बेसमा कार्यरत यादवले आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखामा फोन गरेका थिए। सोही क्रममा ‘जय नेपाल’ नभनेको भन्दै महतोले गालीगलौज गरेको सार्वजनिक अडियोमा सुनिन्छ।
अडियो सार्वजनिक भएपछि नेपाल प्रहरी मधेस प्रदेश कार्यालय जनकपुरधामले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सत्यतथ्य छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको छ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा संवादमा प्रयोग भएको भाषा, शब्द र शैली प्रहरी आचरणविपरीत रहेको उल्लेख छ।
छानबिनबाट दोषी देखिने प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ अनुसार कारबाही गरी नतिजा पेस गर्न निर्देशन दिइएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले पनि हवल्दार महतोमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन्। घटनाबारे बुझ्न फोन गर्ने हवल्दार यादवलाई समेत बोलाइएको उनले जानकारी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij