Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवाः रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्।

सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा थपिएपछि जुनसुकै याममा पनि गोसाइँकुण्ड पुग्न सहज भएको स्थानीय व्यवसायी बताउँछन्। काठमाडौँबाट सदरमुकाम धुन्चेसम्म सवारीसाधनमा पुग्नसकिने भएकाले त्यहाँबाट दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ। काठमाडौँको सुन्दरीजल वा नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्गबाट पनि यात्रा गर्न सकिन्छ।

पदमार्गमा खानेबस्ने सुविधा सहज भएसँगै बाह्रै महिना पदयात्री आउन थालेको खेन्दीका होटल व्यवसायी सृजना घलेले बताए। पहिले विशेष मेलापर्वमा मात्र पर्यटकको चहलपहल हुने गरेकामा अहिले वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उनको भनाइ छ।


धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक यस क्षेत्रमा आउने गरेका छन्। केही दिन यो सङ्ख्या अझ बढी हुने गरेको छ। गत भदौ १० गतेको बाढीले बाटो तथा संरचनामा क्षति पु¥याउँदा पर्यटक आगमन केही समय प्रभावित भए पनि अहिले जनजीवन र पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको उनले बताए। 

मिनी गोसाइँकुण्डमा होटल व्यवसाय गर्दै आउनुभएकी सीता देवकोटाले पनि बाढीकाकारण केही समय व्यवसाय प्रभावित भएपनि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन सामान्य बन्दै गएको बताए। उनका अनुसार यात्राका क्रममा धैबुङको दहीचिउरा, धुन्चेको बसाइ र चन्दनबारीको प्राकृतिक सौन्दर्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ।

धार्मिक विश्वासअनुसार संसारभरका देवीदेवता गोसाइँकुण्डमा बास बस्ने भएकाले त्यहाँ स्नान गर्दा सम्पूर्ण देवीदेवताको दर्शन हुने मान्यता रहेको स्थानीय समाजसेवी दावाफिन्जो तामाङ बताउँछन्। पौराणिक कथनअनुसार समुद्रमन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि उत्पन्न जलन शान्त पार्न भगवान् शिवले त्रिशूलले जमिनमा प्रहार गरी निस्किएको जल पिउनुभएको र त्यही कुण्डमा शयन गर्नुभएको विश्वास गरिन्छ।

त्रिशूलबाट निस्किएको जलबाट गोसाइँकुण्ड बनेको र भगवान् शिव आजसम्म पनि कुण्डमा शयन गरिरहेको धार्मिक विश्वास छ। कुण्डमा स्नान गर्दा रोगव्याधि हट्ने र घरमा सुखशान्ति मिल्ने विश्वासका साथ श्रद्धालुहरू नीलाद्री पर्वत पुगेर शिवको पूजाआराधना गर्ने तथा वरदान माग्ने परम्परा रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए।

गोसाइँकुण्डको ऐतिहासिक महत्व पनि रहेको छ। नेपाल–अङ्गे्रज युद्धपछि भएको सुगौली सन्धिबाट नेपालको हित नभएको पीडामा राष्ट्रिय विभूति अमरसिंह थापाले गोसाइँस्थानमा देहत्याग गरेको इतिहास रहेको पुरोहित ढकालले बताए। उनका अनुसार थापाले कुण्डको दक्षिणतर्फको भिरमा रहेको गुफामा अन्तिम समय बिताएका थिए। 

प्रत्येक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्रीले गोसाइँकुण्ड क्षेत्रको भ्रमण गर्ने गरेका छन्। धार्मिक आस्था राख्ने यात्रुहरूले यात्रा सुरु गर्नुअघि घरका कुलदेवताको बिदा मागेर वेत्रावती नदीमा केश मुण्डन तथा गङ्गापूजा गर्ने प्रचलन छ। यात्राका क्रममा ‘ॐ नमः शिवाय’ जप्दै सुलाद्री पर्वत (लौरीविनायक) आरोहण गरी लौरी चढाउने परम्परासमेत कायम छ।

जुनसुकै मौसममा पदयात्रा गर्न सकिने भएपनि लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा वनस्पति नपाइने र अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने जोखिम रहेको छ। त्यसैले यात्राका क्रममा पर्याप्त पानी तथा ग्लुकोज पिउन, चिकित्सकको परामर्शअनुसार आवश्यक औषधि बोक्न र अदुवा, लसुन तथा कागतीजस्ता घरेलु उपाय अपनाउन स्थानीयवासीले सुझाव दिने गरेका छन्।

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक विविधता समेटिएको गोसाइँकुण्ड पदयात्रा र भ्रमणका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट