Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

विश्व मत्स्य दिवस :  रुपन्देहीका नदी तथा पोखरीमा माछाका भुरा छोडियो

विश्व मत्स्य दिवस :  रुपन्देहीका नदी तथा पोखरीमा माछाका भुरा छोडियो

रुपन्देही : प्राकृतिक जलाशयमा माछाको सङ्ख्या घट्दै गएपछि रुपन्देहीमा माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा जिल्लाका नदी तथा पोखरीमा माछाका भुरा छोडिएको हो । तिनाउ खोलामा २२ हजार माछाका भुरा छोडिएको छ । त्यस्तै, सियारी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयको पोखरीमा दुई हजार र पब्लिक माध्यमिक विद्यालयको पोखरीमा एक हजार भुरा छोडिएको छ । प्राकृतिक जलाशयमा माछाको सङ्ख्या बढाउने र जलीय जैविक विविधता संरक्षण गर्ने उद्देश्यले भुरा छोडिएको आयोजक संस्थाहरूले जनाएका छन् ।रुपन्देहीमा प्राकृतिक जलाशयमा माछाका भुरा छोड्ने कार्यक्रम विगत ११ वर्षदेखि सञ्चालन हुँदै आएको छ । पछिल्लो समय नदी तथा खोलामा माछाको सङ्ख्या घट्दै गएको छ । बाढी, पहिरो, नदीजन्य पदार्थको अत्यधिक दोहन र पानीका स्रोत सुक्दै जानु यसका प्रमुख कारण हुन् ।

त्यसमाथि बजार तथा उद्योगबाट निस्कने रासायनिक पदार्थ, ढल र प्लास्टिकजन्य फोहोर सिधै खोलामा मिसाउँदा जलचरको वासस्थान प्रभावित भएको मत्स्य शुद्ध नश्ल स्रोत कार्यालय रुपन्देहीका प्रमुख रमेश जैसवालले बताए । त्यसैले बजार तथा उद्योगबाट निस्कने ढल र रासायनिक फोहोर प्रशोधन नगरी खोलामा मिसाउन नहुने उनले बताए ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका मत्स्य विकास अधिकृत शेभाखर पाण्डेका अनुसार विगतमा तिनाउ खोलामा ३६ प्रकारका रैथाने माछा पाइन्थे । पछिल्लो अध्ययनले यो सङ्ख्या घटेर २४ प्रकारमा सीमित भएको उनको भनाइ छ ।माछाको सङ्ख्या घट्दा खोलामा माछा मारेर जीविकोपार्जन गर्ने समुदायसमेत प्रभावित भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख शालिकराम पौडेलले बताए । 

नदीको प्राकृतिक बहाव कायम राख्ने, जथाभाबी उत्खनन रोक्ने र जलचरको वासस्थान जोगाउने काममा सबै पक्ष जिम्मेवार हुनुपर्ने पौडेलको भनाइ छ । जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी भन्ने नाराका साथ शनिबार रुपन्देहीको पश्चिम अमुवाको तिनाउ खोला क्षेत्रमा माछाका भुरा छोडेर विश्व मत्स्य दिवस मनाइएको हो ।मत्स्य दिवस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मत्स्य शुद्ध नश्ल श्रोत कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीले आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट