Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

दोस्रो विदेश भ्रमणमा बालेन्द्र : न बिदाइमा लावालस्कर, न लिए सेनाको ‘गार्ड अफ अनर’

दोस्रो विदेश भ्रमणमा बालेन्द्र : न बिदाइमा लावालस्कर, न लिए सेनाको ‘गार्ड अफ अनर’

काठमाडौं : पूर्वप्रधानमन्त्रीहरूले गर्दै आएका अधिकांश परम्परा र अभ्यास तोड्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत शाह ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली गएका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका छन् । गुरुङ, श्रेष्ठ र खरेल बाहेक शाहको बिदाइमा विगतमा जस्तो कुनै तामझाम र लावालस्कर देखिएन । भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरी प्रधानमन्त्री शाह सोमबार साँझ निगमको नियमित उडानमार्फत नै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य सहभागी छन् । यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन जना प्रतिनिधिसहित कुल ३५ जना सदस्य सहभागी छन् ।

प्रधानमन्त्री बालेनको यो दोस्रो औपचारिक विदेश भ्रमण हो । यसअघि प्रधानमन्त्री शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका थिए ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उनी कतार हुँदै अमेरिकाको न्युयोर्क पुगेर असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री शाह अमेरिकाबाट असोज १० गते स्वदेश फर्किएका थिए ।२०८२ चैत १३ गते प्रधानमन्त्री बनेका शाहको भारत भ्रमण विगतका प्रधानमन्त्रीहरूको भ्रमणभन्दा फरक देखिएको छ ।

मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) ले राजकीय भ्रमण गर्दा राष्ट्रपतिलाई जानकारी दिने तथा प्रमुख राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरूसँग भ्रमणका एजेन्डाबारे छलफल गर्ने सामान्य परम्परालाई बालेनले निरन्तरता दिन चाहेनन् । विदेश भ्रमणमा निस्कनुअघि राष्ट्रपतिलाई सामान्य औपचारिक जानकारी नगराएको भन्दै राष्ट्रपति कार्यालय र भ्रमणबारे कूटनीतिक क्षेत्रसहित पूर्वप्रधानमन्त्रीहरूसँग समेत कुनै सल्लाह–सुझाव नलिएको भन्दै असन्तुष्टि देखिएको छ ।

त्यतिमात्र होइन, विदेश भ्रमणमा जाँदा बालेनले फर्स्ट लेडीका रूपमा श्रीमती (सविना काफ्ले) लाई समेत दुवै भ्रमण टोलीमा समावेश गरेनन् । यसअघि विगतका प्रधानमन्त्रीहरू विदेश भ्रमणमा निस्कँदा नेपाली सेनाको टुकडीले सम्मान गारत (गार्ड अफ अनर) दिने गरेकोमा यसपटक त्यो दृश्यसमेत विमानस्थलमा देखिएन । यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुअघि पनि उनले उक्त सम्मान लिएनन् ।यस बारेमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजेन्द्र श्रेष्ठले सम्मान गारतबारे कुनै आदेश नआएकाले आइतबार प्रधानमन्त्री भारत भ्रमणमा जाँदा त्यो कार्यक्रम नराखिएको बताए । ‘धेरै कुरा त मलाई पनि थाहा भएन तर आदेश नभएकाले त्यो कार्यक्रम नराखिएको हो’, श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । भ्रमणलाई फलदायी बनाउनुपर्ने सरोकारवालाहरूको सुझाव छ ।भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकारितासम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा भारत र नेपालका प्रतिनिधिहरूबीच छलफल हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भ्रमणको पहिलो दिन आइतबार साँझ प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सोमबार नयाँदिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्नेछन् । त्यसअघि प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र राष्ट्रपति मुर्मुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।भ्रमण सम्पन्न गरी मंसिर ७ गते सोमबार साँझ १८ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री शाह स्वदेश फर्कनेछन् ।भ्रमण टोली नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट