Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

भरतपुरमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ६५ वर्षीय ढकालको मृत्यु

भरतपुरमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ६५ वर्षीय ढकालको मृत्यु

चितवन : चितवनको भरतपुर महानगरपालिका–१८ मा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ४ः४५ बजे स्थानीय ६५ वर्षीय हरिप्रसाद ढकालको एकतले घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणमा उल्लेख छ।

 

आगलागीको सूचना स्थानीयले प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय चनौलीबाट प्रहरी निरीक्षक कल्पना सापकोटाको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोली घटनास्थल पुग्दा ढकाल घरभित्र बेहोस अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएको थियो। तर, बिहान ६ः३० बजे अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।


स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा बिहान करिब ५ः४५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट घरभित्र रहेका फर्निचर, लत्ताकपडा तथा अन्नपात जलेर नष्ट भएका छन्। घरमा रहेका चौपायालाई भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट आगलागीको कारण रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट