काठमाडौं : जय नेपाल पार्टीका केन्द्रीय सदस्य फणिराज लोहनीले स्थानीय तह निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने धारणा राखेका छन् ।सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै लोहनीले स्थानीय तह निर्वाचन गैरदलीय भए पार्टीलाई फाइदा पुग्ने तर्क गरे । गैरदलीय निर्वाचनमा उम्मेदवारको पार्टीगत आबद्धताभन्दा व्यक्तिगत छवि र क्षमताका आधारमा मत प्राप्त गर्न सकिने उनको भनाइ थियो ।उनले गैरदलीय निर्वाचन हुँदा राजसंस्थाका पक्षधरले पनि आफ्नो पार्टीको उम्मेदवारलाई मतदान गर्न सक्ने बताए । जय नेपाल पार्टीको नामबाट उम्मेदवारी दिँदा राजावादी मतदाताको मत विभाजित हुन सक्ने भन्दै उनले गैरदलीय निर्वाचनलाई अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।
‘गैरदलीयमा गयौँ भने राजसंस्था चाहिन्छ भन्नेहरूले पनि भोट हाल्न सक्छन् । राम्रो मान्छे हो भनेर अरूले पनि भोट हाल्न सक्छन्,’ उनले भने ।लोहनीले स्थानीय तह निर्वाचनबाट पार्टीको संगठन विस्तार गर्न सकिने बताए । स्थानीय तहमा जित हासिल गर्न सके आगामी प्रदेश निर्वाचनका लागि पनि संगठन बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।उनले पार्टीले अघि सारेका राजनीतिक मुद्दा जनतामाझ लैजान पनि स्थानीय तह निर्वाचन उपयोगी हुने बताए ।
बैठकमा लोहनीले छठ पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्ने प्रस्तावसमेत राखेका थिए । हिन्दु धर्म र संस्कृतिको पक्षमा रहेको पार्टीले छठ पर्वलाई राष्ट्रिय पर्व बनाउनुपर्ने उनको तर्क थियो । साथै उनले महँगी नियन्त्रण, गौहत्यामा प्रतिबन्ध र गाईको बिक्री वितरण रोक्नुपर्ने विषयलाई पनि पार्टीका मुद्दाका रूपमा अघि सारेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij