Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

स्थानीय चुनावमा दलीय प्रतिस्पर्धा हटाउन जय नेपाल पार्टीका नेता फणिराज लोहनीको प्रस्ताव !

स्थानीय चुनावमा दलीय प्रतिस्पर्धा हटाउन जय नेपाल पार्टीका नेता फणिराज लोहनीको प्रस्ताव !

काठमाडौं : स्थानीय तहको निर्वाचनमा दलगत प्रतिस्पर्धाभन्दा उम्मेदवारको व्यक्तिगत लोकप्रियता, क्षमता र सामाजिक छविलाई प्राथमिकता दिनुपर्ने बहस जय नेपाल पार्टीभित्र उठेको छ। पार्टीका केन्द्रीय सदस्य फणिराज लोहनीले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै लोहनीले गैरदलीय निर्वाचन पार्टीका लागि राजनीतिक अवसर बन्न सक्ने बताएका हुन्। उनका अनुसार स्थानीय निर्वाचनमा दलको नामभन्दा उम्मेदवारको व्यक्तिगत पहिचान र योग्यताले बढी महत्त्व पाउने वातावरण बनेमा विभिन्न राजनीतिक विचारधारा भएका मतदाताको समर्थनसमेत प्राप्त गर्न सकिन्छ। विशेषगरी राजसंस्थाका समर्थक मतदाताको मतसमेत आकर्षित गर्न गैरदलीय निर्वाचन उपयुक्त हुने उनको विश्लेषण छ। पार्टीको नामबाट उम्मेदवारी दिँदा राजसंस्थाका पक्षधर मत विभाजित हुन सक्ने उल्लेख गर्दै उनले गैरदलीय प्रतिस्पर्धामा राम्रो छवि भएका उम्मेदवारलाई सबै पक्षबाट समर्थन जुट्न सक्ने बताए। ‘गैरदलीयमा गयौँ भने राजसंस्था चाहिन्छ भन्नेहरूले पनि भोट हाल्न सक्छन् । राम्रो मान्छे हो भनेर अरूले पनि भोट हाल्न सक्छन्,’ उनले बैठकमा भने।

लोहनीले स्थानीय तहको निर्वाचनलाई पार्टीको संगठन विस्तारको आधारका रूपमा समेत उपयोग गर्नुपर्ने धारणा राखे। स्थानीय तहमा सफलता हासिल गर्न सके त्यसले आगामी प्रदेश निर्वाचनका लागि संगठनात्मक आधार बलियो बनाउने र पार्टीका राजनीतिक मुद्दा जनतासम्म पुर्‍याउन सहयोग गर्ने उनको भनाइ थियो। बैठकमा उनले छठ पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्नुपर्ने प्रस्ताव पनि राखेका थिए। त्यसैगरी बढ्दो महँगी नियन्त्रण, गौहत्यामा प्रतिबन्ध तथा गाईको बिक्री वितरण रोक्नुपर्ने विषयलाई पार्टीले आफ्नो राजनीतिक एजेन्डाका रूपमा अघि सार्नुपर्ने सुझाव दिएका थिए। लोहनीका प्रस्तावले स्थानीय निर्वाचनको स्वरूपसँगै जय नेपाल पार्टीले आगामी दिनमा अवलम्बन गर्ने राजनीतिक रणनीति र मुद्दाबारे पनि बहसलाई अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट