काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड मूल्य बराबरको साढे ५ केजी अवैध लागूऔषध सेतो हेरोइन बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट काठमाडौं ल्याएको सेतो हेरोइन बरामद गरिएको हो । बरामद सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड पर्ने आँकलन गरिएको छ ।
सेतो हेरोइन बोकेर विमानस्थलमा ओर्लिएका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे छन् । शनिबार बिहान प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा उनले ल्याएको लगेजमा खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएको अवस्थामा सेतो हेरोइन फेला परेको थियो ।पक्राउ परेका भारतीय यसअघि पनि दुई पटक लाओसबाट काठमाडौं आएर भारत गएको ट्राभल हिस्ट्री भेटिएको छ । उनले जिम्बाम्बे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमण गरेको यात्रा विवरण देखिएको छ ।
उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद गरिएको छ ।सेतो हेरोइन कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । पक्राउ परेका भारतीय नागरिकमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij