काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकुलपति (भीसी) डा. विवेक आचार्य बालेन्द्र शाह ‘बालेन’ सरकारको सुशासन नीतिबिपरीत अस्पताल डुवाएर कमाउधन्दामा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बिभिन्न सरोकारवाला निकायमा उजुरी परेको छ ।
उजुरीमा भीसी डा. आचार्य अस्पताल सुधार, सेवा बिस्तार, आकस्मिक कक्ष बिस्तार, बिग्रिएका उपकरण मर्मत, सहज सेवा दिनेपट्टि भन्दा कमिसन संकलनतिर बढी केन्द्रित भएको आरोप लगाइएको छ ।
आचार्यमाथि अस्पतालमा आफन्त र निकटस्थहरुलाई सप्लाईको काम कोटेशनमा दिएर लाभ लिनेतिर बढी केन्द्रित भएको आरोप लागेको छ । अस्पतालमा दैनिकजसो भीसीका आफन्तका कम्पनीबाट गैरकानूनी तवरले महंगोमा कोटेशनमा सामान मगाई थन्क्याउने काम हुँदैआएको पनि उजुरीमा उल्लेख छ ।
‘भीसी आचार्यले गएको दशैंमा सयौं स्वास्थ्यकर्मी र कर्मचारीले बिगतदेखि खाइपाई आएको चार्डवार्ड खर्च काटेर अस्पतालमा विवादास्पद व्यापारीलाई करोडौं भुक्तानी दिएका छन् । ती ब्यापारीले हिमालयन जाभा कफीसपमा भेटी भीसी आचार्यसँग सेटिङ मिलाएका हुन् ।’–उजुरीमा भनिएको छ ।
अस्पतालको फार्मेसीमा बिरामीलाई चाहिने अत्यावश्यक ९५ प्रतिशत मेडिसिन र सर्जिकल सामान नपाइने गरेको गुनासो बढिरहेको छ । तर, उनले अस्पताल बाहिरका निजी फार्मेसीसँग मासिक नजराना बुझेर औषधी तथा सर्जिकल सामान राख्न दिएको आरोप पनि छ । त्यही भएर उनले अस्पताल फार्मेसी वार्डको टेण्डर निकाल्न आनाकानी गरेको वीरकै कर्मचारीहरु बताउँछन् ।
क्यान्सर वार्ड सेवा बिस्तार र भएको गामा सिटी उपकरण सञ्चालनमा नल्याई थन्क्याएर राखिएको छ । त्यसको मुख्य कारण भने भीसीकै ठूलो लगानीमा ललितपुरमा निजी क्यान्सर अस्पताल छ ।
वीर अस्पतालमा केमो दिने बिरामी अस्पतालमा पालो नपाएर छट्पटीमा छन्, तर भीसी आचार्यले बिरामीलाई आफ्नो निजी अस्पतालमा जान सिफारिस गर्ने गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालयदेखि राष्ट्रिय सतर्कता केन्द्रसहितका निकायमा उजुरी परेको छ ।
उजुरीमा भनिएको छ–‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का भीसी आचार्यले नै नेपाल सरकारले दिएको १६ करोड बराबरको गामा सिटी उपकरण बहाना बनाएर सञ्चालनमा ल्याएका छैनन् । किनकी उनको समेत लगानीमा निजी गामा इमेजिङ सेन्टर महाराजगन्जमा रहेको छ । उनी अस्पतालमा विगत लामो समयदेखि पेन्डिङमा रहेको विवादास्पद २० करोड रुपैयाँको भुक्तानी दिन निकै जोडबलका साथ लागेका छन् ।’
‘भीसी आचार्यको दबाबका बाबजुद पनि भुक्तानी प्रकियामा असहयोग गर्ने कर्मचारीलाई मेडिकल माफियामार्फत् सरुवा गराइएको छ,’ उजुरीमा भनिएको छ–‘ खरिद र प्रशासन शाखाले उल्टै व्यापारीसँग जरिवाना लिनुपर्छ भनेर टिप्पणी उठाएकोमा भीसी आचार्यले २० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने अडान लिएका छन् ।’
भीसी आचार्यले जागिर अवधि ६ महिनामात्र बाँकी भएका, अवकाशको मुखमा रहेका कर्मचारीलाई पुरानो विवादित ५७ करोड भुक्तानी दिन महालेखा नियन्त्रक कार्यालय धाएरै ल्याएका छन् । उनी त्यसका लागि हप्तौं महालेखा नियन्त्रक कार्यालय धाएका थिए । अस्पतालको खरिद शाखाका एक कर्मचारी भन्छन्–‘उनको लहलहैमा लागेर काम गर्ने हो भने ३ महिनैमा अख्तियारले जाक्छ ।’
लेखाका कर्मचारी विवादास्पद भुक्तानी दिन भीसीले दबाब दिने गरेको बताउँछन् । ती कर्मचारी भन्छन्–‘फाइल टिप्पणी नउठाए सरुवा गरिदिन्छु भन्छन् । मेडिकल ब्यापारीमार्फत् थर्काउँछन् । ब्यापारीसँग प्रधानमन्त्री कार्यालय र स्वास्थ्यमन्त्रीलाई कमिसन दिनुपर्छ भन्दै ३० प्रतिशत रकम उठाउँछन् । भीसी आचार्यले भनेको माने तुरुन्तै अख्तियारमा धाउनेमात्र होइन, मुद्दा नै खेप्नुपर्छ । के गर्ने बरु सरुवा लिएर अन्तै जानुपर्छ जस्तो छ ।’
भीसी आचार्यले दशैंअगाडि विनादरवन्दी १९ जनालाई नियुक्ति दिन प्रशासनमा टिप्पणी उठाउनू भनेका थिए । प्रशासन प्रमुखले नमानेपछि उनले ती उपसचिवको पनि सरुवा गराइदिएका छन् । प्रतिब्यक्ति दररेट लिएर नियुक्ति गर्न दबाब दिएको भन्दै केन्द्रमा उजुरी परेको छ ।
‘उनी विभागीय प्रमुख हुँदा पनि आर्थिक मामिलामा कमजोर रहेको, औषधि लेख्दा होस् वा आफ्नो निजी अस्पतालमा बिरामी पठाउँदा एवं पुरानो गामा मेसिन डिस्पोजल गराउँदा वा १ करोडको बंकर ६ करोडमा बनाउँदा सबैमा ब्यापक गडबडी गरेका छन् । अख्तियारले यी फाइल छानबिन गर्ने हो भने उनीमाथि सिधै मुद्दा दायर गर्नसक्छ । प्रधानमन्त्री कार्यालयले यी फाइल मगाएर अध्ययन गर्ने भएको छ’–उजुरीमा भनिएको छ ।
व्यापारीलाई कर्मचारीले असहयोग गर्दैमा केही हुँदैन, अख्तियारको स्वास्थ्य हेर्ने शाखमा आफ्ना विश्वासिला रहेका र पिएम सचिवालयमा आफ्नो टिममा मान्छे छन् भन्दै विवादास्पद फाइलको भुक्तानी गराउन कर्मचारीहरुलाई उनी भीसीले दबाब ंिदंदै आएका छन् । भीसी आचार्यले वीर अस्पतालको बिस्तारित दुवाकोट परियोजनाको डीपीआरको जिम्मा समेत आफ्नै नातेदारको कन्सल्टेन्टीलाई दिन लागेको उजुरीमा उल्लेख छ ।
भीसी डा. आचार्यले स्वास्थ्य सामग्री आपूर्तिकर्ता ब्यापारीहरुले मात्रै सामान खरिद गर्न मिल्नेगरी स्पेसिफिकेसन तयार गर्ने गरेको उजुरीमा उल्लेख छ । अस्पतालमा जताततै भ्रष्टाचार भएको र स्पेक बनाउँदासमेत निश्चित ब्यापारीको कम्पनाीको उत्पादनसँग मात्र मिल्नेगरी स्पेसिफिकेसन बनाउने गरेपछि कर्मचारीको समूहले अख्तियार, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, सर्तकता केन्द्र र सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा प्रमाणसहित उजुरी दिएको तथ्य अनलाइन नेपाललाई प्राप्त भएको छ ।
भीसी आचार्यबिरुद्ध केही समय पहिले नै गैरकानूनी रुपमा अकूत सम्पत्ति आर्जन गरी बिभिन्न ठाउँमा लगानी गरेको भन्दै उजुरी परेको थियो । उनका लगानी रहेका कम्पनीको विवरसहित अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा उजुरी परी छानबिन भइरहेको उल्लेख छ ।
सुशासनको नारा जप्ने बालेन सरकार र स्वास्थ्य मन्त्री निशा मेहता भीसी डा.आचार्यले खुलमखुला उनीहरुकै नाममा कमिसन उठाउँदै बिरामी र कर्मचारीमाथि अन्याय गर्दा पनि किन देख्दैन सिंहदरबार भन्ने प्रश्न अस्पतालकै कर्मचारीले गर्न थालेका छन् ।
आफ्नो र श्रीमतीको नाममा बिभिन्न अस्पताल र गामा सेन्टर जस्ता धेरै ठाउँमा लगानी गरेका आचार्यले वीर अस्पतालको भन्दा पनि आफ्ना कम्पनीको ब्यापार बढाउन तल्लीन भएको उजुरी अख्तियारमा दर्ता भएको छ । उनको लगानी भएका कम्पनीहरुको विवरणसमेत उजुरीमा उल्लेख छ ।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५९ मा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीले स्वास्थ्य क्लिनिक वा अस्पताल वा नर्सिङ होम खोल्न तथा सञ्चालन गर्न नपाउने व्यवस्था छ । तर यो कानूनी ब्यवस्थाविपरीत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. आचार्यले बिभिन्न अस्पताल र स्वास्थ्य संस्थामा लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उल्लेख छ ।
निजामती सेवा नियमावली, २०५० को नियम १७७ विपरीत तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ मा गैरकानुनी व्यापार गरेको आरोप भीसी आचार्यमाथि लागेको छ । र, उनीमाथि छानबिन गर्न माग गरिएको छ । उजुरीमा उल्लेख छ–भीसी आचार्यको नाममा गामा इमेजिङ एण्ड रिसर्च सेन्टर प्रालिमा १० हजार कित्ता संस्थापक सेयर रहेको छ ।
आचार्यको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च प्रालि ललितपुरमा १५ हजार कित्ता सेयर रहेको छ । उनको नाममा संस्थापक शेयर २५७३२७५–२५८८२७४ सम्म रहेको छ । त्यसैगरी, थ्री सी नेपाल एभरेस्ट कम्प्रिहेन्सिभ क्यान्सर केयर प्रालिमा पनि उनको नाममा हजार कित्ता सेयर रहेको छ भने अजिमा होल्डिङ प्राइभेट लिमिटेडमा ७ हजार ५ सय कित्ता सेयर रहेको छ ।
न्याम्सका उपकुलपति डा. आचार्यसँग उनकाविरुद्ध परेको उजुरीका विषयमा प्रतिक्रियाका लागि प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij