अस्ट्रेलियाको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर सिड्नीमा ५.६ अर्ब अस्ट्रेलियन डलर (करिब ३.९४ अर्ब अमेरिकी डलर) को लागतमा निर्मित नयाँ अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि यात्रु सेवाका लागि खुला भएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले यसलाई देशकै उड्डयन इतिहासमा पाँच दशकपछिको ऐतिहासिक कोसेढुङ्गाका रूपमा वर्णन गरेका छन्।
सिड्नीको केन्द्रीय व्यापारिक क्षेत्रबाट करिब ६० किलोमिटर पश्चिममा रहेको 'वेस्टर्न सिड्नी इन्टरनेसनल एयरपोर्ट' (ब्याजरीज क्रिक) २४ सै घण्टा सञ्चालन हुनेछ। पुराना विमानस्थलमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म उडान-अवतरणमा रोक लगाइने गरिएकाले यो नयाँ विमानस्थलले एयरलाइन्सहरूलाई ठुलो सहजता प्रदान गर्नेछ। जेटस्टारको पहिलो उडानसँगै सुरु भएको यस विमानस्थलको वार्षिक आठ करोडभन्दा बढी यात्रु आवतजावत गराउन सक्ने क्षमता रहेको छ। सन् २०२५ को जुलाईमा निर्माण सम्पन्न भई कार्गो सेवा सुरु भइसकेको यो आयोजना १५ वर्षको योजना र सात वर्षको अथक निर्माणपछि पूर्ण रूपमा सञ्चालनमा आएको हो।