काठमाडाैँ : बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ । घटनामा करिब ४०० जना पक्राउ परेका छन् भने सेन्ट–एटिनेमा भिड नियन्त्रण गर्ने ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात गुमेको छ।
गृह मन्त्रालयका अनुसार प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए । श्रमिक सङ्गठन सीजीटीले भने आठ लाख मानिसले सहभागिता जनाएको दाबी गरेको छ । मास्क लगाएका युवाहरूले पेरिससहित मार्सेइ, बोर्डो, लिल र अन्य सहरमा पसल लुट्नुका साथै गाडी र सरकारी भवनमा आगजनी तथा तोडफोड गरेका थिए। लिमोजमा १४० वर्षभन्दा पुरानो भवनमा आगलागी हुँदा ठुलो क्षति पुगेको छ ।
प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसाको निन्दा गरेका छन् भने राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड र लुटपाटमा संलग्नलाई कारबाही गर्ने बताए।
आगामी राष्ट्रपति निर्वाचनको तयारी भइरहेका बेला महँगी, राजनीतिक असन्तुष्टि र विद्यार्थी आन्दोलनले अशान्ति थप चर्काएको छ। पश्चिम एसियाको युद्धले युरोपमा मुद्रास्फीति बढाउन योगदान गरेको प्रदर्शनकारीहरूको भनाइ छ। ८ वर्षअघि इन्धन कर वृद्धिविरुद्ध आन्दोलन गरेको ‘यल्लो भेस्ट’ समूहले यसपटक ‘यल्लो एन्ड युथ’ प्रदर्शनको आह्वान गरेको थियो।
राष्ट्रपति निर्वाचनका प्रतिस्पर्धी नेतृ मरिन ले पेनले हिंसाको निन्दा गर्दै अति वामपन्थी नेता जिन–लुक मेलेनचोनको दलले हिंसालाई वैधता दिएको आरोप लगाएका छन्। प्रदर्शनलाई समर्थन गर्दै आउनुभएका मेलेनचोनले भने लुटपाट आफ्नो आन्दोलनको विधिविपरीत भएको बताउँदै त्यसबाट टाढा रहन आग्रह गरेका छन्।
पेरिसमा प्रदर्शनकारीले म्याक्रोनको राजीनामा माग्दै नारा लगाएका थिए। केहीले सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग वर्तमान आन्दोलनको तुलना गरेका छन्। विद्यार्थी प्रतिनिधि निकायका प्रमुख रियाद रानीले सरकार दबाबमा परेको बताउँदै असन्तुष्ट फ्रान्सेली जनता आफ्ना मागबाट पछि नहट्ने धारणा व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij