Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना सन्देश, बाढी प्रभावितको पुनःस्थापनामा जुट्न अपिल

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना सन्देश, बाढी प्रभावितको पुनःस्थापनामा जुट्न अपिल

काठमाडौँ :  राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले दसैँले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई सुदृढ गर्दै पहिचानलाई जोगाइराख्न मद्दत पुर्‍याएको राष्ट्रपतिको भनाइ छ।

विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको सन्दर्भ स्मरण गराउँदै उनले यो पर्व अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने उल्लेख गरे।

पारिवारिक जमघट र खुसी साटासाट गरिने दसैँको सामाजिक, धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय महत्त्व निकै ठूलो रहेको उनले स्पष्ट पारे।

यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गरेका छन्।

उनले विपद्‌मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। बाढी प्रभावितहरूको पुनःस्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्न पनि उनले अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट