कर्णाली : हिन्दुहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर छ। रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र साथीभाइ भेट्न नपाएका सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको मिलन दसैँ, तिहार, छठ तथा नेपाल संवत्ले गराउँदैछ।
परिवार, आफन्त, साथीसङ्गीबिचको सङ्गमको पर्व मानिने दसैँतिहारको समयमा भने सुरक्षा निकायका सबै कर्मचारीहरू कार्यक्षेत्रमा खटिनुपर्दछ। नागरिकहरूको शान्ति सुरक्षाका लागि भनेर यस वर्ष पनि यही असोज २५ गते घटस्थापनाको दिनदेखि कर्णालीमा कर्तव्यपालना गर्ने क्षेत्रमा पाँच हजारभन्दा बढी प्रहरी खटिएका छन्।
समग्र नेपालीहरू खुसी, आनन्द र रमाइलो लिइरहेका बेला घर जान त परको कुरा हो, यो चाडपर्वमा कुनै अवाञ्चित, अप्रिय र आपराधिक घटना घट्छन् कि भन्ने चिन्ताले प्रहरी अधिकृतदेखि जवानसम्मका राष्ट्रसेवकलाई पिरोलिरहेको हुन्छ।
घर जान नपाएको पीडाले भन्दा उनीहरूलाई नागरिकको जीउधनको सुरक्षा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराले बढी घोत्लिन बाध्य बनाउँछ । चाडपर्वको समयमा अझ बढी दुर्घटना हुने, सामाजिक अपराध बढ्ने, अवैध धन्दा, ठगी, कालोबजारी, जुवातास, मदिरा, लागुऔषधको कारोबारसमेत हुने भएकाले यसको रोकथाम, नियन्त्रण र न्यूनीकरणमा ध्यान केन्द्रित गरेर प्रहरी आफ्नो कर्म क्षेत्रमा परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले बताए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा आयोजित ‘चाडपर्व सुरक्षा विशेष नागरिकसँग चियापान कार्यक्रम’मा उनले भने, “प्रहरी बर्दी लगाएको नागरिक हो । तपाईँको जस्तै दसैँ मनाउने मन, रहर र सपना ऊसँग पनि छ । यद्यपि कर्तव्यपालनाको सिलसिलामा भएकाले तपाईँको दसैँ, तिहार, छठ तथा नेपाल संवत् खुसीका साथै रमाइलो र आनन्दमय होस् भनेर ऊ ड्युटीमा खटिएको छ । ड्युटीको क्रममा बाटोमा उभिएको प्रहरीलाई भन्दिनुस्ः हजुर दसैँ तथा तिहारको शुभकामना !”
नागरिकको शान्ति सुरक्षामा अन्य सुरक्षा निकायभन्दा फिल्डमै खटिएर काम गर्दै आएको नेपाल प्रहरीलाई दसैँको शुभकामनामात्रै भन्दिए त्यसले काम गर्न धेरै ठुलो ऊर्जा मिल्ने र आपसी सद्भाव साटसाट हुने उनको भनाइ थियो।
२८ वर्षको जागिरे जीवनमा १४ वर्ष आफूले पनि घर जान नपाएको तीतो अनुभव व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक पछिल्लो समयमा लागुऔषध निकै चुनौती बनेकाले यसको रोकथाम, न्यूनीकरण तथा नियन्त्रणमा सबैको साझा प्रयास आवश्यक भएको उल्लेख गरे।
कर्णाली प्रदेश सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले नागरिकको शान्ति, सुरक्षा र समाजमा अमनचयन काम गर्ने मामिलामा नेपाल प्रहरीको महत्त्वपूर्ण योगदान रहेको बताए। उनले कर्णाली आफैँमा ठुलो भूगोल भएकाले छरिएर रहेका बस्तीका नागरिकहरूको सडक यात्रा र सुरक्षामा ध्यान दिन प्रहरीलाई आग्रह गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij