Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

आन्तरिक तथा मौसमी बसाइँसराइबारे पत्रकारलाई प्रशिक्षण

आन्तरिक तथा मौसमी बसाइँसराइबारे पत्रकारलाई प्रशिक्षण

इच्छाकामना  : चितवनमा आन्तरिक तथा मौसमी बसाइँसराइको अवस्था र यसले पारेको प्रभावबारे समाचार रिपोर्टिङ गर्न पत्रकारलाई सचेत गराउने उद्देश्यले दुईदिने कार्यशाला आयोजना गरिएको छ।

‘दिगो आर्थिक विकासका लागि आप्रवासीहरूलाई सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्रबार र शनिबार इच्छाकामना गाउँपालिका–६, जलविरेमा पत्रकारका लागि कार्यशाला आयोजना गरिएको हो।

कार्यशालामा बसाइँसराइको अवस्था, आप्रवासीहरूको जीवनस्तर तथा नेपालमा आप्रवासनको प्रकृति, वर्तमान अवस्था र प्राथमिकताका विषयमा छलफल गरिएको थियो।

कार्यशालामा परियोजना संयोजक ऋषिकेश ढकालले बसाइँसराइका कारण व्यक्ति, परिवार तथा समुदायको जीवनस्तरमा पर्ने प्रभावलाई तथ्यमा आधारित भएर समाचारका माध्यमबाट उजागर गर्न आवश्यक रहेको बताउनुभयो। सञ्चारमाध्यमले आन्तरिक तथा मौसमी बसाइँसराइको विषयलाई पर्याप्त प्राथमिकता नदिएको उल्लेख गर्दै उहाँले यसका प्रभावबारे तथ्यपरक समाचार सम्प्रेषण गर्न पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा संयोजक ढकाल, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दीपेन्द्र अधिकारी र राजु अधिकारीले प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणका क्रममा रोजगारी, शिक्षा, स्वास्थ्य, सेवा–सुविधा, प्राकृतिक प्रकोप, द्वन्द्व तथा सामाजिक र राजनीतिकलगायतका कारणले मानिसहरू बसाइँसराइ गर्न बाध्य हुने गरेको विषयमा छलफल गरिएको थियो।

विशेषगरी इच्छाकामना गाउँपालिकामा बसाइँसराइको अवस्था, आप्रवासीहरूको जीवनस्तर तथा बसाइँसराइले स्थानीय सामाजिक र आर्थिक क्षेत्रमा पारेको प्रभावबारे तथ्यमा आधारित रिपोर्टिङलाई प्राथमिकता दिँदै कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij