Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बागमती सफाइ महाअभियान ७०० औँ हप्तामा

बागमती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौँ :  चौध वर्षअघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ७००औँ हप्तामा प्रवेश गरेको छ । गुह्येश्वरीस्थित अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नानयोग्य बनाउने गरी काम गर्न माग गरेका छन् ।

कार्यक्रममा सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले सफाइ अभियान सुरु भएको ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरिएको स्मरण गर्दै त्यसलाई स्थायित्व दिन नसकिएको बताए ।
त्यसबेला पानी परीक्षण गरेर स्नान गरिएको स्मरण पनि उनले गरे । तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले पनि गुह्येश्वरीमा जल आचमन गरेका थिए ।

समितिका अध्यक्ष डा.आनन्दसिंह भाटले नदीको भएको धारलाई व्यवस्थापन गरी नदी सफाइ गर्ने अभियानलाई पूर्णता दिइने बताए । नदी क्षेत्रको रिचार्जका लागि विभिन्न स्थानमा ताल बनाउने योजना रहेको उनले जानकारी दिए ।

कार्यक्रममा समितिका आयोजना प्रमुख मचाकाजी महर्जन, सफाइ अभियानकर्मी डा.माला खरेलले बागमती सफाइसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । अन्तरक्रियाअघि गुह्येश्वरी क्षेत्रको बागमती सफाइ गरिएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सफाइ महाअभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा बागमती सफाइ हुँदै आएको छ । महाअभियानबाट प्रभावित भई राजधानीमा बागमतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदास्थलमा सफाइ भइरहेको छ ।

राजधानी बाहिरका मुख्य सहर, नदी र सम्पदास्थलमा पनि सफाइ भएको छ । हाल देशभर करिब १११ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij