Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

इरानसँगको युद्धमा अमेरिकाका ८१ विमान क्षतिग्रस्त, हेलिकप्टर र ड्रोन पनि ध्वस्त

इरानसँगको युद्धमा अमेरिकाका ८१ विमान क्षतिग्रस्त, हेलिकप्टर र ड्रोन पनि ध्वस्त

एजेन्सी : इरानसँगको युद्धमा अमेरिकी सेनाका कम्तीमा ८१ वटा विमान, हेलिकप्टर र ड्रोन ध्वस्त वा क्षतिग्रस्त भएका छन्। ती हवाई साधनको मर्मत तथा प्रतिस्थापनमा ३.३ अर्ब डलरसम्म खर्च लाग्न सक्ने अनुमान गरिएको छ।

अमेरिकी संसद्को अनुसन्धान शाखा कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को प्रतिवेदनलाई उद्धृत गर्दै सीएनएनले यस्तो विवरण सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार क्षतिग्रस्त वा ध्वस्त भएका हवाई साधनमध्ये आधाभन्दा बढी एमक्यू–९ ‘रिपर’ ड्रोन छन्। अमेरिकाले यस्ता ड्रोन गुप्तचर संकलन, निगरानी, जासुसी तथा सैन्य कारबाहीमा प्रयोग गर्दै आएको छ।

इरानसँगको युद्धमा अमेरिकाका अत्याधुनिक र महँगा सैन्य विमानसमेत क्षतिग्रस्त भएका छन्। क्षति पुगेका हवाई साधनमा एफ–३५ए स्टेल्थ लडाकु विमान र ई–३ सेन्ट्री निगरानी विमान पनि छन्। ई–३ सेन्ट्रीले हवाई क्षेत्रको निगरानी, लक्ष्य पहिचान तथा सैन्य विमानबीच समन्वय गर्न सहयोग गर्छ।

सीआरएसका अनुसार क्षतिग्रस्त विमान मर्मत वा ध्वस्त विमान प्रतिस्थापन गर्न १.९ अर्बदेखि ३.३ अर्ब डलरसम्म खर्च हुन सक्छ। वास्तविक लागत भने अमेरिकी रक्षा मन्त्रालयले कुन विमान मर्मत गर्ने र कुनलाई नयाँ विमानले प्रतिस्थापन गर्ने भन्ने निर्णयमा निर्भर रहनेछ।

विमानमा भएको क्षति इरान युद्धमा अमेरिकाले बेहोरेको कुल आर्थिक भारको सानो हिस्सा मात्रै हो। सार्वजनिक विवरणअनुसार युद्धमा अमेरिकी खर्च कम्तीमा ४५ अर्ब डलर पुगिसकेको छ। यसमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडामा भएको पूर्वाधार क्षति समावेश छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij