वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्।
कुनै पनि राष्ट्रपतिले अहिलेसम्म युद्ध अन्त्य नगराएको तर आफूले आठवटा युद्ध रोकेकाले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने उनको भनाइ थियो। सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेको नोबेल समितिले शुक्रबार गर्दै छ। सोही पुरस्कारका विषयमा सोधिएको प्रश्नमा ट्रम्पले नोबेल समितिको निर्णय के हुन्छ भन्ने आफूलाई थाहा नभएको बताए। समितिको छवि ट्रम्प जस्ता मानिसहरूलाई पुरस्कार नदिने खालको रहेको टिप्पणी पनि उनले गरे।
पुनः सत्तामा आएदेखि नै ट्रम्पले आफू विश्वकै प्रतिष्ठितमध्येको एक नोबेल शान्ति पुरस्कारको वास्तविक हकदार भएको बताउँदै आएका छन्। अब त्यो समय आएको भन्दै उनले अघिल्लो पटक पुरस्कार पाउने व्यक्तिले इतिहासमै ट्रम्प सबैभन्दा बढी हकदार रहेको बताएको दाबी गरे। ओभल अफिसमा पत्रकारहरूसँग बोल्दै उनले ती व्यक्तिमार्फत अप्रत्यक्ष रूपमा सम्मान पाइसकेको र त्यसबाट सम्मानित महसुस गरेको उल्लेख गरे।भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले जनवरीमा आफूले पाएको सन् २०२५ को नोबेल शान्ति पुरस्कारको पदक ट्रम्पलाई दिएकी थिइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij