विराटनगर । धरान उपमहानगरपालिका परिसरमा आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको भनिएको घटनाबारे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) भिषण बहादुर राईका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन सीसीटीभी फुटेज संकलन, विश्लेषण तथा अन्य प्रमाणहरूको अध्ययन भइरहेको छ ।
डीएसपी राईले अनसनमा बसेका विद्यार्थी शंकरले वास्तवमै फिनेल सेवन गरेका हुन् वा अन्य कुनै तरल पदार्थ भन्ने विषयमा पनि प्राविधिक जाँच भइरहेको जानकारी दिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा यकिन निष्कर्षमा पुगिने र उक्त निष्कर्ष सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
‘त्यो घटनाको विषयमा अनुसन्धान जारी छ । हामीले सिसिटिभी फुटेजदेखि प्रमाणहरुको संकलन गर्ने र विश्लेषण गर्ने काम गरिरहेका छौं,’ डीएसपी राईले भने, ‘सबै हेरिसकेपछि हामी एउटा निष्कर्षमा पुग्छौँ र त्यो निष्कर्ष सार्वजनिक गर्नेछौँ । फिनेल पिएको हो कि होइन भन्ने विषयमा पनि बीपी प्रतिष्ठानले गरेको स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा छानबिन भइरहेको छ । उनले औपचारिक रूपमा जाहेरी भने दर्ता नभएको बताएका छन् । स्रोतका अनुसार घटनाको अनुसन्धान र सत्यतथ्य छानबिनको माग गर्दै प्रहरीमा तीन वटा निवेदन परेको छ ।
धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पदपूर्तिको माग राख्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । त्यसक्रममा आन्दोलनमा रहेका शंकरले धरान उपमहानगरपालिका परिसरमै फिनेल सेवन गरेका थिए । फिनेल सेवनपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यसपछि धरान उपमहानगरपालिकाका कार्यबहाक प्रमुख आइन्द्र विक्रम बेघाविरुद्ध आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर राईले शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउने पत्र विद्यालयलाई हस्तान्तरण गरेसँगै नगर बाल सञ्जालले आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो ।
विद्यार्थी रोजन शंकरले पनि गत मंगलबार अनसन तोडेका थिए । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले अस्पताल पुगेर जुस खुवाउँदै उनको अनसन तोडाएका हुन् । अनसन तोड्ने क्रममा शंकरले आफूले बाहिरी दबाब र ‘इगो’का कारण फिनेल सेवन गर्नुपरेको बताएका छन् । उनले भने, ‘दबाब र इगोको कारण फिनेल पिएको हुँ ।’
दबाब दिने व्यक्तिको नाम तत्काल नखुलाएका उनले स्वास्थ्यमा पूर्ण सुधार आएपछि सबै विवरण सार्वजनिक गर्ने बताएका थिए । यसअघि, उपमहानगरपालिकाको सीसीटीभी फुटेजका आधारमा कार्यवाहक नगर प्रमुख बेघाले गरेको सोधपुछका क्रममा आन्दोलनरत अर्का विद्यार्थी सौगात विकले आफूले पत्रकार सञ्जिता धमलाबाट फिनेल लिएर रोजनलाई दिएको दाबी गरेका थिए ।
सौगात विक रोजनलाई फिनेल भरेको बोतल ल्याएर दिने व्यक्ति भएको सीसीटीभीमा देखिएका थिए । त्यसपछि उनलाई सोधपुछ गर्दा उनले धमलाको नाम लिएका हुन् । कार्यवाहक नगर प्रमुख बेघाले बालबालिकालाई आन्दोलनका नाममा उक्साएर जीवन जोखिममा पार्ने घटनाको निष्पक्ष छानबिन गरिने बताएका छन् ।
उक्त आरोपप्रति पत्रकार धमलाले भने अस्वीकार गरेकी छन् । आफूलाई फसाउने षड्यन्त्रका साथ नियोजित व्यक्तिहरू परिचालन गरेर झुटा आरोप लगाइएको उनको भनाइ छ । ‘मैले कसैलाई फिनेल दिएको छैन, यो फेक हो,’ धमलाले भनिन्, ‘मैले फिनेल ल्याएर दिएको भन्ने मान्छे स्क्रिप्टेड हो । आफ्नो चरित्रहत्या गर्ने प्रयासविरुद्ध म प्रहरीमा उजुरी दिने तयारीमा छु ।’
उनले आफ्नो नाम जोडेर भइरहेको प्रचारले मानसिक तनावमा परेको बताइन् । साथै आफ्नो विरुद्धमा भ्रम छर्नेहरुलाई नछोड्ने उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij