Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बाढी–पहिरोमा नेपाली सेनाको सक्रियता: जोखिममा परेका बस्तीको उद्धारदेखि अवरुद्ध सडक सुचारुसम्म

बाढी–पहिरोमा नेपाली सेनाको सक्रियता: जोखिममा परेका बस्तीको उद्धारदेखि अवरुद्ध सडक सुचारुसम्म

पर्वत : अविरल वर्षाका कारण पर्वत जिल्लाका कालीगण्डकी, मोदी खोला लगायतका नदी तथा खोलामा पानीको सतह उच्च भएसँगै विभिन्न स्थानमा बाढी, नदी कटान तथा पहिरोको जोखिम बढेपछि नेपाली सेना श्री नं. २३ बाहिनी अड्डा अन्तर्गत श्री नयाँ रणभीम गुल्मबाट परिचालित फौजले उद्धार तथा विपद् प्रतिकार्य कार्यलाई तीव्रता दिएको छ।

मिति २०८३ असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण पर्वतका विभिन्न स्थानमा डुबान, नदी कटान तथा पहिरोबाट बस्ती तथा सडक प्रभावित भएका थिए। यस क्रममा जलजला गाउँपालिका–८, फर्सेस्थित कालीगण्डकी नदीको सतह बढेपछि नदी कटान तथा डुबानको जोखिममा परेको करिब १०० घरधुरीको बस्तीमा नेपाली सेनाले तत्काल खोज तथा उद्धार कार्य सञ्चालन गरेको थियो।

श्री नयाँ रणभीम गुल्मको फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्थानीय बासिन्दासँग समन्वय गरी जोखिममा रहेका परिवारलाई सामुदायिक भवन तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै विपद् प्रभावितका लागि अस्थायी आश्रयस्थल निर्माण, राहत सामग्री वितरण लगायतका कार्य गरेको थियो। साथै, फर्से क्षेत्रमा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याउन समेत फौज परिचालन गरिएको थियो।

बाढी, डुबान तथा पहिरोजस्ता विपद्का समयमा ‘जनताको सुरक्षा, तत्काल उद्धार र अत्यावश्यक पूर्वाधारको शीघ्र पुनः सञ्चालन’लाई प्राथमिकतामा राख्दै नेपाली सेनाले स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा समुदायसँगको सहकार्यमा विपद् प्रतिकार्य कार्यलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij