काठमाडौँ : काठमाडौँ महानगरपालिका–३१, प्रयागमार्गबाट प्रहरीले ४१.८१ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले बुधबार दिउँसो करिब २ बजे प्रयागमार्गस्थित एक सुनचाँदी पसल नजिक चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा भोजपुर नगरपालिका–८ घर भई हाल ललितपुर बस्दै आएका ३८ वर्षीय विनोद कुमार वि.क., तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय हमर डाँगी र हुम्लाको ताजाकोट गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका–१३ बस्दै आएका ३६ वर्षीय विजय कार्की पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट ४१.८१ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा बा ६० प २५६ नम्बरको स्कुटर बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij