Logo

Sep 22 2026 | २०८३, आश्विन ६गते

असोज ८–१२ मा भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह

असोज ८–१२ मा भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं : बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ। केही मौसम पूर्वानुमान मोडेलले ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने संकेत गरेका छन्। जल तथा मौसम विभागका अनुसार देशका सबै क्षेत्रमा समान वर्षा नभई केही निश्चित स्थानमा भारी वर्षा केन्द्रित हुन सक्ने देखिएको छ।

भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन बाहिरिन थालेपछि विकसित हुने सुक्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको गतिमा प्रभाव पार्न सक्ने विभागले जनाएको छ। यसको असर नेपालमा परे केही क्षेत्रमा भारी वर्षाको जोखिम बढ्न सक्छ।

असोज ८–११ मा बढी जोखिम

मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार अधिकांश पूर्वानुमान मोडेलले असोज ८ देखि ११ गतेसम्मको अवस्था जोखिमपूर्ण देखाएका छन्। असोज १० गते जोखिम बढी हुन सक्ने संकेत देखिए पनि अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्ष मान्न नहुने उनले बताएका छन्।

गत वर्षको ‘मोन्था’ चक्रवातको उदाहरण दिँदै उपाध्यायले अन्तिम समयमा मौसम प्रणाली कमजोर हुन सक्ने सम्भावना पनि औँल्याएका छन्। सम्भावित जोखिमलाई लिएर सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गर्दै उनले भनेका छन्, ‘नडराऔँ, नआत्तिऔँ, सजग रहौँ, हदैसम्म सावधान रहौँ।’

विशेषगरी धान भित्र्याउने समय भएकाले किसानलाई मौसमको पूर्वानुमान हेरेर आवश्यक सावधानी अपनाउन र असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगित गर्न उनले सुझाव दिएका छन् । यद्यपि वर्षाको वास्तविक तीव्रता र प्रभाव पर्ने क्षेत्रबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट