रत्ननगर :रत्ननगर नगरपालिका–१, सौराहा चोकस्थित उत्तरपट्टि नेपाल माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा सञ्चालित सटर तथा व्यवसायिक संरचनाका विषयमा विवाद चुलिएको छ। विद्यालयको स्वामित्वमा रहेको जग्गामा सम्बन्धित निकायको आवश्यक समन्वय तथा अनुमति नलिई आफूखुसी थप संरचना निर्माण गरिएको विद्यालय प्रशासनको आरोप छ।
विद्यालयको जग्गामा हाल करिब ३३ वटा सटर सञ्चालनमा रहेको बताइएको छ। तीमध्ये कतिपय व्यवसायीले नियमित रूपमा भाडा नतिरेको तथा केहीले विद्यालयसँग भएको सम्झौता वा स्वीकृत संरचनाभन्दा बाहिर गएर थप कोठा तथा संरचना निर्माण गरेको विद्यालय पक्षको भनाइ छ।
विशेषगरी सटरको पछाडिपट्टिको खाली जग्गामा समेत व्यवसायीहरूले आफूखुसी ३–४ वटा वा सोभन्दा बढी कोठा निर्माण गरेको विद्यालयको दाबी छ। यसरी निर्माण गरिएका संरचनाका कारण विद्यालयको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भएको भन्दै विद्यालय व्यवस्थापन समितिले आपत्ति जनाउँदै आएको छ।
विद्यालयले पटक–पटक सूचना जारी गर्दै अनधिकृत रूपमा संरचना निर्माण नगर्न तथा निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको जनाएको छ। साथै, समस्या समाधानका लागि रत्ननगर नगरपालिका, वडा कार्यालय, इलाका प्रहरी कार्यालय लगायत सम्बन्धित निकायलाई जानकारी गराउँदै आवश्यक समन्वयको प्रयास गरिएको विद्यालय पक्षको भनाइ छ।
यस विषयमा सर्वपक्षीय बैठकसमेत बसेर अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने सहमति भएको बताइएको छ। सहमतिअनुसार संरचना हटाउन तयारी भइरहेका बेला राजनीतिक तथा स्थानीय दबाबका कारण प्रक्रिया प्रभावित हुन सक्ने भन्दै विद्यालय पक्षले चिन्ता व्यक्त गरेको छ।
विद्यालयको जग्गा संरक्षण तथा अनधिकृत संरचना हटाउने विषयमा स्थानीय तहले स्पष्ट निर्णय लिनुपर्ने मागसमेत उठेको छ।
यता, यस विषयमा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन नसकेन् ।
विद्यालयको स्वामित्वमा रहेको जग्गाको प्रयोग, सटर भाडा, निर्माण गरिएका संरचना तथा सम्भावित अतिक्रमणबारे सम्बन्धित निकायले आवश्यक छानबिन गरी तथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij