चितवन : चितवनको राप्ती नगरपालिकाबाट प्रहरीले १६८ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार चालक डिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका छन् । सोमबार बिहान करिब ३ः४० बजे राप्ती नगरपालिकाको भित्री सडक हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कारमा गाँजा ओसारपसार भइरहेको गोप्य सूचना प्रहरीले पाएको थियो ।
सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिका–१० स्थित चिप्लेटीमा कार रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा कारको पछाडिको डिक्कीभित्र रातो प्लास्टिकमा प्याक गरी बाहिरबाट सेतो पानी टेपले बेरेर चारपाटे आकारमा राखिएका १२ वटा पोका फेला परेका थिए ।
प्रहरीका अनुसार ती पोकाबाट कुल १६८ किलो गाँजा बरामद भएको हो । गाँजा बरामद भएपछि प्रहरीले कारसहित दुवै जनालाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij