Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सोमेश्वर गढीमा काजी अभिमानसिंह बस्न्यातको शालिक अनावरण, ऐतिहासिक क्षेत्रको विकासमा नयाँ आयाम

सोमेश्वर गढीमा काजी अभिमानसिंह बस्न्यातको शालिक अनावरण, ऐतिहासिक क्षेत्रको विकासमा नयाँ आयाम

माडी : माडी नगरपालिका–९ स्थित ऐतिहासिक सोमेश्वर गढीमा शुक्रबार एक विशेष समारोहका बीच राष्ट्रिय विभूति काजी अभिमानसिंह बस्न्यातको शालिक अनावरण गरिएको छ। सोही अवसरमा सोमेश्वर ढुङ्गेधाराको समुद्घाटन तथा राष्ट्रिय झण्डा उत्तोलन कार्यक्रम पनि सम्पन्न गरिएको छ।

माडी नगरपालिका र नेपाली सेना नयाँ गोरख गण, कसराको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा माडी नगर प्रमुख ताराकुमारी काजी महतो, बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल तथा नेपाली सेना मध्य पृतनाका पृतनापति उपरथी विष्णुकुमार खड्कालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नेपालको इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याएका काजी अभिमानसिंह बस्न्यातको सम्मानमा स्थापित शालिकले ऐतिहासिक सम्पदाको संरक्षण र नयाँ पुस्तालाई इतिहासप्रति जागरुक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनीहरूले सोमेश्वर गढीलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।

शालिक निर्माणका लागि मूर्तिकार दिनेश्वर महतो र हरिराम अधिकारीले करिब ६ महिनाको मेहनतपछि ६ फिट ४ इन्च उचाइको शालिक तयार पारेका थिए। उक्त शालिक २०८० साल वैशाख ७ गते स्थापना गरिएको भए पनि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएपछि शुक्रबार औपचारिक रूपमा अनावरण गरिएको हो।

हाल माडी नगरपालिका र नेपाली सेना नयाँ गोरख गणको सहकार्यमा सोमेश्वर गढी क्षेत्रमा पूर्वाधार विकास, सौन्दर्यकरण तथा कलात्मक संरचना निर्माणको कार्य तीव्र रूपमा अघि बढिरहेको छ। यस अभियानमा बागमती प्रदेश सरकारबाट समेत उल्लेखनीय सहयोग प्राप्त भएको जनाइएको छ।स्थानीय सरकारका अनुसार सोमेश्वर गढीलाई ऐतिहासिक सम्पदा संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न पूर्वाधार निर्माण तथा संरक्षणका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट