झापाः एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा आजदेखि सुरु हुने प्रतियोगितामा सात हजार दर्शकले एकैपटक खेल हेर्नसक्ने गरी अस्थायी प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ।
गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको अध्यक्ष लिम्बूले जानकारी दिए।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij