Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट : नेपालले आज भारत ‘ए’को सामना गर्दै

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट : नेपालले आज भारत ‘ए’को सामना गर्दै


काठमाडौंः कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ को सामना गर्दैछ। समूह ‘बी’अन्तर्गतको यो खेल दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रन लागेको नेपाली टोलीका लागि प्रतियोगिताको सुरुआत नै कठिन चुनौतीका रूपमा देखिएको छ। नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’सँगै पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता बलिया टोली छन्। शुक्रबार नै बिहान ११ः४५ बजे समूह ‘बी’ को पहिलो खेलमा पाकिस्तान ‘ए’ र यूएई भिड्दैछन्।

अनुभवी तीव्र गतिका बलर सोमपाल कामी घाइते भएर प्रतियोगिताबाट बाहिरिएपछि उनको स्थानमा लेफ्ट आर्म पेसर प्रतिश जी.सी. तथा ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई मुख्य टोलीमा समावेश गरिएको छ।

नेपाली टोलीमा कप्तान सन्दीप र प्रतिशसँगै कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे, अभिषेक गौतम र मयन यादव रहेका छन्।

तिलक वर्माको कप्तानीमा मैदान उत्रने भारत ‘ए’ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनुभव बटुलेका खेलाडीको बाहुल्यता छ।

कप्तान तिलक र उपकप्तान रिंकु सिंहसँगै आक्रामक ब्याटर अभिषेक शर्मा तथा युवा ब्याटर वैभव सूर्यवंशी टोलीका प्रमुख आकर्षण हुन्। भारत ‘ए’ को टोलीमा विकेटकिपर ब्याटरका रूपमा प्रभसिमरन सिंह र कुमार कुशाग्र रहेका छन् भने अलराउन्डरमा सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे र तनुष कोटियन समेटिएका छन्। बलिङतर्फ हर्षित राणा, प्रिन्स यादव र अर्शद खानजस्ता तीव्र गतिका बलर छन्।

तीव्र गति र स्पिन दुवै बलिङ विकल्प तथा आक्रामक ब्याटिङ लाइनअप भएको भारत ‘ए’ विरुद्ध नेपालले सुरुवातदेखि नै कसिलो बलिङ र अनुशासित ब्याटिङमार्फत दबाब बनाउने रणनीति अपनाउनुपर्ने देखिन्छ। समूह चरणमा नेपालले भारत ‘ए’ पछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। 

आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ छन्। सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताका सेमिफाइनल खेल मंसिर ११ र १२ गते तथा फाइनल खेल मंसिर १४ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij