Logo

Nov 21 2026 | २०८३, मंसिर ६गते

संक्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसकेकोमा मानव अधिकार आयोगको चिन्ता

संक्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसकेकोमा मानव अधिकार आयोगको चिन्ता

काठमाडौँ : विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुग्न लाग्दा पनि संक्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसकेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ ।शुक्रबार जारी प्रेस विज्ञप्तिमा आयोगले शान्ति सम्झौताका अन्य कतिपय विषय सम्पन्न भए पनि द्वन्द्वकालीन गम्भीर मानव अधिकार उल्लंघनका घटनाको छानबिन, दोषीलाई कारबाही र पीडितलाई न्याय प्रदान गर्ने कार्यमा प्रगति हुन नसकेको उल्लेख गरेको छ।

आयोगले शान्ति सम्झौता बमोजिम विगतमा तीन पटक आयोग गठन भए पनि काम पूरा हुन नसकेको जनाएको छ। कानूनमा आवश्यक संशोधन भइसक्दासमेत नयाँ सरकारले आयोग गठनलाई प्राथमिकता नदिँदा वर्षौँदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूको आशा निराशामा परिणत भएको आयोगको ठहर छ।


आयोगका सहसचिव एवं प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय र प्रभावकारी बनाउन अब गठन हुने संयन्त्रलाई पर्याप्त जनशक्ति तथा भौतिक स्रोतसाधन उपलब्ध गराउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

पीडितहरूको अर्थपूर्ण सहभागितामा स्वतन्त्र र विश्वसनीय आयोग गठन गरी सत्य जान्न पाउने अधिकार, परिपूरण तथा पीडित र साक्षीको संरक्षण सुनिश्चित गर्न आयोगले आग्रह गरेको छ।
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij