काठमाडौँ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरको मध्यपुर थिमि-१ मा सञ्चालित 'जिरे खुर्सानी दरबार'लाई दुई लाख ५ हजार रुपैयाँ जरिबाना गरेको छ।
असुरक्षित तरिकाले ढुवानी गरिएको र स्वास्थ्यका लागि हानिकारक मासु प्रयोग गरी परिकार तयार पारेको भेटिएपछि विभागले उक्त रेस्टुरेन्टमाथि कारबाही गरेको विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागका अनुसार, जिरे खुर्सानी दरबारले अस्वस्थकर मासु प्रयोग गरिरहेको भन्ने उजुरीका आधारमा गत असार २१ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीले आकस्मिक अनुगमन गरेको थियो। सो क्रममा रेस्टुरेन्टमा भण्डारण गरी राखिएको १४.२ केजी काँचो कुखुराको मासु, ५ केजी तन्दुरी मासु र स्रोत नखुलेको करिब १८ केजी मासु फेला परेको थियो।
टोलीले उक्त मासुको नमुना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाको परीक्षण प्रतिवेदनमा उक्त मासुमा मानव स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणुको उपस्थिति रहेको पुष्टि भएको थियो।
स्वास्थ्यका लागि जोखिमपूर्ण प्रमाणित भएपछि विभागले बुधबार पुनः अनुगमन गरी बरामद गरिएको सबै मासु नष्ट गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ‘ङ’ बमोजिमको कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड ‘ख’ अनुसार रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले जानकारी दिइन् ।
खाद्य स्वच्छतामा खेलबाड गर्ने र मापदण्ड विपरीत मासुजन्य पदार्थको प्रयोग गर्ने व्यवसायीलाई सचेत गराउँदै विभागले आगामी दिनमा पनि यस्ता अनुगमनलाई तीव्रता दिने समेत जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij