एजेन्सी : ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले स्टार फरवार्ड नेयमारको फिटनेस अवस्थाबारे थप स्पष्टता पाउन सोमबार एमआरआई गरिने बताएका छन्। नेयमार विश्वकप खेल्न फिट हुने दौडमा रहेका बेला उनको स्वास्थ्य अवस्थामाथि अझै केही अन्योल कायम छ। मे १७ मा सान्तोसबाट खेल्ने क्रममा नेयमारको पिँडुलामा चोट लागेको थियो । सो चोट लागेको भोलिपल्ट मात्र उनलाई विश्वकपका लागि ब्राजिलको टोलीमा समावेश गरिएको थियो।
ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमार सन् २०२३ को अक्टोबरयता पटक पटकको चोटका कारण राष्ट्रिय टोलीबाट मैदान उत्रिन सकेका छैनन्। उनले हालको चोटबारे आफू चिन्तित नरहेको सार्वजनिक रूपमा बताए पनि एन्सेलोट्टी भने सतर्क देखिएका छन्। ब्राजिलले शनिबार विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा नेयमारले सहभागिता जनाउने छैनन्।
यद्यपि एन्सेलोट्टी जुन १३ मा मोरक्कोविरुद्ध हुने विश्वकपको पहिलो खेलसम्म नेयमार फिट हुनेमा आशावादी छन्। तर एमआरआईको नतिजाले उनलाई विश्वकपबाट बाहिरसमेत पार्न सक्ने सम्भावना रहेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एन्सेलोट्टीले भने, ‘उनको अवस्था स्पष्ट छ। उनी व्यक्तिगत रूपमा निकै राम्रो काम गरिरहेका छन्। सप्ताहान्तपछि एमआरआई हुनेछ र सबै कुरा ठीक भए अर्को सातादेखि टोलीसँग प्रशिक्षणमा फर्कन सक्छन्।’
नेयमार इजिप्टविरुद्धको खेलमा उपलब्ध नहुने भएपछि
एन्सेलोट्टीले यो खेललाई आफ्नो टोलीको अन्तिम परीक्षणका रूपमा उपयोग गर्ने योजना बनाएका छन्। यस क्रममा उनले प्रिमियर लिग २०२५–२६ सिजनमा २२ गोलसहित दोस्रो सर्वाधिक गोलकर्ता बनेका इगोर थियागो र मिडफिल्डर लुकास पाकेटालाई सुरुआती रोजाइमा उतार्ने भएका छन्। यी दुवै खेलाडीले पछिल्लो खेलमा पानामाविरुद्ध ब्राजिलको ६-२ को शानदार जितमा बेन्चबाट मैदान प्रवेश गर्दै गोल गरेका थिए। इगोर थियागोले एक असिस्टसमेत दिएका थिए।
एन्सेलोट्टीले भने, ‘यो परीक्षण गर्ने अन्तिम खेल हो। पाकेटा हाम्रो लागि महत्वपूर्ण खेलाडी हुन्, किनकि उनीसँग अन्य मिडफिल्डरभन्दा फरक विशेषता छन्। म उनलाई र इगोर थियागोलाई खेलमा थप परीक्षण गर्न चाहन्छु।’ उनले थपे, ‘अग्रपंक्तिका चार खेलाडीको प्रणाली राम्रोसँग स्थापित भइसकेको छ। अब म यो अन्तिम परीक्षणमा नयाँ विकल्पको पनि मूल्याङ्कन गर्न चाहन्छु।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij