काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद आशिका तामाङले संसद् लगातार तीन दिनदेखि अवरुद्ध भएकोप्रति चिन्ता व्यक्त गर्दै सत्ता पक्ष र प्रतिपक्षबिच राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्ने धारणा राखेकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद तामाङले यस्तो बताएकी हुन् ।
तामाङले राष्ट्रियताको सवालमा सत्ता र प्रतिपक्षको विभाजनभन्दा माथि उठेर सबै राजनीतिक दलले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइन् ।
उनले संसद्को काम केवल हाजिर गर्ने र भत्ता बुझ्ने मात्र नभई जनताका मुद्दा र देशको विकाससँग सम्बन्धित विषयमा प्रभावकारी छलफल गर्नु पनि भएको उल्लेख गरेकी छन् ।
उनले बजेटमाथिको महत्त्वपूर्ण छलफल हुनुपर्ने बेला संसद् सञ्चालन हुन नसक्दा यसको प्रत्यक्ष असर देशको विकासमा पर्ने बताइन् । ‘देश विकासको मेरुदण्ड मानिने बजेटमाथि नै बहस गर्न नसक्ने अवस्था बनेमा देशले निकास र विकास कसरी पाउँछ ?’ भन्ने प्रश्न उनले उठाएकी छन् ।
तामाङले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै सबै पक्षले आफ्नो अडानमा मात्र अडिग रहने प्रवृत्ति त्याग्नुपर्ने आवश्यकता औँल्याएकी छन् । उनले परिवर्तनका लागि बलिदान दिएका सहिदहरूको योगदान स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वले त्यसको सम्मान गर्नुपर्ने धारणा पनि व्यक्त गरेकी छन् ।फेसबुक स्ट्याटसमार्फत उनले सभामुखको भूमिकाप्रति सहानुभूति जनाउँदै संसद् सञ्चालन गर्न चाहँदाचाहँदै पनि परिस्थितिका कारण उहाँले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको देखिएको उल्लेख गरेकी छन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै तामाङले संसद्मा उपस्थित भई प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ दिन र अवरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेकी छन् । ‘तपाईँ हाम्रो अभिभावक हो, हामी सबै तपाईँका सन्तान हौँ। कृपया सदनमा आएर प्रतिपक्षका सवालहरूको जवाफ दिनुहोस् र संसद् सञ्चालनको वातावरण बनाइदिनुहोस्,’ उनले लेखेकी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij