भरतपुर : जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय भरतपुरले चितवन जिल्लामा मात्रै तीन करोड रूपैयाँभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरेको छ ।
कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार एक महिनाको अवधिमा (चैत १६ देखि वैशाख १७ सम्म) नेपाली र अंग्रेजी माध्यमका गरी कुल तीन करोड १० लाख रूपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री भएका छन् ।
उनका अनुसार चितवनमा अंग्रेजी माध्यमका ४४ हजार २६३ थान र नेपाली माध्यमका १७ लाख ६७ हजार ८८ थान पुस्तक बिक्री भएको छ । “चैत १६ देखि पुस्तक बिक्री खुलाएका थियौँ, जसले जति पुस्तक मागे पनि दिइरहेका छौँ, कुनै पुस्तकको अभाव छैन,” प्रमुख केसीले बताए ।
जनक शिक्षाले कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तक बिक्री गरिरहेको छ । यस वर्ष गत वर्षजस्तो कक्षा १, २ र ४ का पुस्तक उत्पादन नगरेको जनाइएको छ । कार्यालय प्रमुख केसीका अनुसार गत वर्षको तुलनामा बिक्री वृद्धि भएको छ । “गत वर्ष चितवनमा एक महिनामा करिब अढाई करोडको पुस्तक बिक्री भएको थियो, यस वर्ष तीन करोड नाघिसकेको छ,” उनले भने ।
चितवनमा ९१ जना व्यवसायीले जनकका पुस्तक खरिद गरेका छन् भने ९४ जना सूचीकृत व्यवसायीमध्ये तीन जनाले मात्र खरिद गरेका छैनन् ।
प्रादेशिक कार्यालयका सूचना अधिकारी केदारराज विष्टका अनुसार माडी र इच्छाकामनामा तुलनात्मक रूपमा कम पुस्तक बिक्री भएको छ भने सबैभन्दा बढी बिक्री भरतपुर महानगर क्षेत्रमा भएको छ ।
त्यस्तै, मकवानपुर, पर्सा र बाराका व्यवसायीलाई सहज रूपमा पुस्तक आपूर्ति गरिएको जनाइएको छ । प्रादेशिक कार्यालय भरतपुरबाट पूर्वी तनहुँ, नवलपरासी पूर्व, बारा, पर्सा, रौतहट र मकवानपुरसम्म पाठ्यपुस्तक वितरण हुने गरेको छ ।
कार्यालयका अनुसार यस शैक्षिक सत्रमा सात जिल्लामा कुल १६ करोड ६० लाख रुपैयाँ बराबरको पाठ्यपुस्तक बिक्री भइसकेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij