काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले गुग्लिएल्मो एरेनालाई नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने भएको छ।
एन्फाका एक पदाधिकारीका अनुसार उनी नेपाल आइसकेका छन्। “लामो समय हामी प्रशिक्षकविहीन थियौँ। त्यसैले टेक्निकल डाइरेक्टर हरि खड्काले टिम सम्हालिरहनुभएको थियो। तर, प्रो लाइसेन्स प्रशिक्षक नै चाहिएको हुँदा एरेनालाई नियुक्त गर्न लागिएको हो,” ती पदाधिकारीले नेपालन्युजसँग भने।
गत मंसिरको अन्तिम साता इटालियन प्रशिक्षक म्याट रसले नेपाली टिम छाडेका थिए। त्यसपछि एन्फाकै टेक्निकल डाइरेक्टर खड्काको प्रशिक्षणमा नेपालले मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेलेको थियो। १८ नोभेम्बर २०२५ मा मलेसियाकै घरेलु मैदानमा सम्पन्न उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो। अब नेपालले २६ मार्चमा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका तय छ। त्यसको पाँच दिनपछि एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपालले लाओसको सामना गर्नेछ। नेपाल र लाओस यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
“बाँकीका प्रतियोगितालाई पनि प्रो-लाइसेन्सवाला प्रशिक्षक चाहिन्छ। त्यसैले अहिले उहाँसँग लिगल कुरा पूरा गरिरहेका छौँ। छिटै सार्वजनिक गर्छौं,” ती पदाधिकारीले भने। ५२ वर्षीय एरेना दोहोरो नागरिकताधारी प्रशिक्षक हुन्। उनीसँग इटाली र स्विट्जरल्यान्डको नागरिकता छ। उनीसँग लाओसको टिम सम्हालिसकेको अनुभव पनि छ। यस्तै मोरक्कोको क्लब एमएएस फेस पनि सम्हालेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij