Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रवि हावी चितवन–२ मा कांग्रेसको नयाँ प्रयोग : सामाजिक अभियन्ता मीना खरेल मैदानमा

रवि हावी चितवन–२ मा कांग्रेसको नयाँ प्रयोग : सामाजिक अभियन्ता मीना खरेल मैदानमा

चितवन  : २०७९ को प्रतिनिधिसभा निर्वाचन र त्यसपछिको उपचुनावमा उम्मेदवार प्रतिस्पर्धामा आउन नसकेपछि नेपाली कांग्रेसले यसपटक चितवन निर्वाचन क्षेत्र नं. २ मा नयाँ प्रयोग गरेको छ । कांग्रेसले सामाजिक अभियन्ताका रूपमा परिचित मीनाकुमारी खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध उम्मेदवार बनाएको हो ।

पार्टी खोलेको छ महिनामै २०७९ को निर्वाचनमा चितवन–२ बाट सानदार जित हासिल गरेका रवि लामिछाने नियमित निर्वाचनमा मात्र होइन, नागरिकता प्रकरणपछि भएको उपचुनावमा पनि झन् ठूलो मतान्तरसहित विजयी भएका थिए । नागरिकता विवादका कारण सांसद पद गुमे पनि पुनः चुनावमा उनले मतान्तर बढाउँदै जित हात पारेका थिए ।

अघिल्लो निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उमेश श्रेष्ठ पराजित भएका थिए भने उपचुनावमा स्थानीय कांग्रेस उम्मेदवार प्रतिस्पर्धामा समेत आउन सकेनन् । यही पृष्ठभूमिमा कांग्रेसले २१ फागुनमा हुने निर्वाचनका लागि सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय मीनालाई उम्मेदवार बनाएको हो ।

२०७९ को निर्वाचनमा रवि लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गर्दै ३४ हजार ३ सय १२ मतान्तरले जितेका थिए । कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत ल्याएका थिए भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत पाएका थिए । कांग्रेस र एमालेको कुल मतभन्दा झण्डै दोब्बर मत ल्याउँदै रविले चुनाव जितेका थिए ।

त्यसपछि १२ वैशाख २०८० मा भएको उपचुनावमा पनि रविको प्रभाव झन् बलियो देखियो । उनले ५४ हजार २ सय ७६ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत मात्रै ल्याए । रविको जितअन्तर ४३ हजार २५ मतको थियो । एमालेका रामप्रसाद न्यौपाने तेस्रो भए ।

नागरिकता विवादपछि पुनः नागरिकता पाएर चुनाव लडेका रवि अहिले सहकारी ठगीसम्बन्धी मुद्दाका कारण सांसद पद निलम्बनमा छन् । उनीविरुद्ध पाँचवटा जिल्ला अदालतमा मुद्दा विचाराधीन छन् । यद्यपि बाहिर बसेर मुद्दा लड्न पाउने कानुनी सुविधाका कारण रवि यसपटक पनि चितवन–२ बाटै उम्मेदवार बनेका छन् ।

यही परिस्थितिमा कांग्रेसले ‘राजनीतिकभन्दा सामाजिक र मानवीय’ उम्मेदवारका रूपमा मीनालाई अगाडि सारेको हो । मीना कांग्रेसकी महासमिति सदस्य भए पनि उनको पहिचान राजनीतिकभन्दा सामाजिक अभियन्ताका रूपमा बलियो रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनाल बताउँछन् ।

उनका अनुसार मीना ३५ वर्षदेखि सामाजिक अभियन्ताका रूपमा सक्रिय छिन् । अप्ठ्यारोमा परेका महिला र बालबालिकाको उद्धार, राहत, पुनर्स्थापना र शिक्षामा सहयोग गर्दै आएकी उनले आदर्श नारी विकास केन्द्रमार्फत दुई हजारभन्दा बढी पीडितलाई सहयोग गरिसकेकी छन् ।

‘सबलले त आफैँ गर्न सक्छन्, असहायका लागि लोकतन्त्र चाहिन्छ,’ खनाल भन्छन्, ‘सडक र भुइँमान्छेका दुःख–पीडाको प्रतिनिधित्व सदनमा कसले गर्छ भन्ने प्रश्नको उत्तरका रूपमा हामीले मीनालाई उम्मेदवार बनाएका हौँ ।’

अविवाहित मीनाले जीवनमा आर्जन गरेको सम्पत्ति सामाजिक संस्था र अनाथ आश्रमका लागि समर्पण गरिसकेको खनालको भनाइ छ । कांग्रेसले सामाजिक गतिविधिलाई राजनीतिसँग जोड्ने नीति लिएको र सोही नीतिअनुसार मीनालाई उम्मेदवार बनाइएको उनले बताए ।

उता, उम्मेदवार मीना खरेलले राजनीतिलाई पेसा होइन, सेवा ठान्नुपर्ने बताउँछिन् । ‘कानुन सबैका लागि बराबर हुनुपर्छ,’ उनी भन्छिन्, ‘सामान्य नागरिकलाई लाग्ने कानुन शक्ति र पहुँच भएकालाई पनि लाग्नुपर्छ । त्यसका लागि म कानुन बनाउने ठाउँमा पुग्न चाहन्छु ।’

चितवनमै जन्मे–हुर्केकी मीनाले आफ्नो ऊर्जाशील समय सामाजिक सेवामा खर्च गरेको बताउँदै परिवर्तन र रूपान्तरणका लागि मतदातासँग एकपटक अवसर दिन आग्रह गरेकी छन् ।

५३ वर्षीया मीना समाजशास्त्रमा स्नातकोत्तर हुन् । पञ्चायतकालदेखि नै अन्यायविरुद्ध आवाज उठाउँदै आएकी उनले २०४४ सालमा चितवनमा विद्यालय शुल्कविरुद्धको आन्दोलनको नेतृत्व गरेकी थिइन् । वीरेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ अध्यक्ष भएर काम गरेकी उनी कांग्रेसको जिल्ला कार्यसमिति सदस्य हुँदै महासमिति सदस्यसम्म पुगेकी छन् ।

लामो सामाजिक सेवाको यात्रामा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छन् । बेलायत, कोरिया र अस्ट्रेलियाबाट पनि उनी सम्मानित भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट