Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन ‍निकुञ्जमा बाघ गन्न राखिएका ५ क्यामेरा हराए

चितवन ‍निकुञ्जमा बाघ गन्न राखिएका ५ क्यामेरा हराए

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि जडान गरिएका सात वटा क्यामेरामा क्षति पुगेको छ । पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणनाका क्रममा पाँच वटा क्यामेरा हराएका छन् भने दुई वटा क्यामेरा हात्तीले फुटाएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार हराएका क्यामेरामध्ये तीन वटा थुम्सी क्षेत्रमा र दुई वटा तमासपुर क्षेत्रमा जडान गरिएका थिए । टाइगर टप्स क्षेत्रमा राखिएका दुई क्यामेरा हात्तीले क्षति पुर्‍याएको उनले बताए । बाघ गणनाका लागि करिब २८६ ग्रिड क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।

पहिलो चरणको गणना सकिएपछि क्यामेरा संकलन गर्ने क्रममा केही स्थानका क्यामेरा हराएको र केहीमा क्षति भएको पाइएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर बाघ गणना भइरहेको छ । पहिलो चरणमा त्रिवेणी, अमलटारी, कसरा हुँदै बरणडाभार क्षेत्र समेटिएको थियो ।

हाल दोस्रो चरणको बाघ गणना सुरु गरिएको छ । यस चरणमा १३ वटा क्याम्प स्थापना गरी गणकहरू खटाइएका छन् । सौराहा, खगेन्द्रमल्ली, लोथर प्रतापपुर, हर्दास, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै सिकारी बास क्षेत्रसम्म क्यामेरा जडान गरिएको छ । यस क्षेत्रलाई ३३६ ग्रिडमा विभाजन गरी गणना भइरहेको छ, जहाँ १५० जना गणक परिचालित छन् ।

चितवन–पर्सा ब्लकमा कुल ९५८ ग्रिड बनाएर बाघ गणना गरिँदै आएको छ । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो, जसमा चितवनमा १२८ बाघ भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट