नवलपुर : पूर्वपश्चिम सडक विस्तार गरिरहेको चाइना स्टेट कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य वस्तु उत्खनन गरेको पाइएको छ ।कावासोती १६ को पत्थर खोलामा केही दिन अघि जेसिबी र टिप्पर प्रयोग गरी उत्खनन भएका तस्वीरहरु सामाजिक सञ्जालमा आएपछि कावासोती नगरपालिकाले अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा फेला परेको १ थान जेसिबी र १ थान टिप्परलाई कारवाही गर्ने निर्णय गरिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताए ।उनका अनुसार टिप्परको २५ हजार रुपैयाँ जरिवाना र जेसिबीको ७० हजार गरी ९५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
नगरपालिकासँग विना अनुमति उत्खनन गरिएको पाइएकोले कारवाही गरिएको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु भुसालले बताए । उनका अनुसार नगरपालिकाले कति परिणाममा नदीजन्य वस्तु उत्खनन गरिएको छ भन्ने थप अनुसन्धान गर्न अनुगमन समिति गठन गरिएको र उसले गरेको सिफारिसको आधारमा थप कारवाही हुने बताए ।
यस अघि कावासोती नगरपालिकाले स्टक प्रमाणित नभएको नदीजन्य वस्तु जफत गर्ने र चोरी निकासी गर्दै गरेको अवस्थामा सवारी साधनको संख्याको आधारमा कारवाही गर्ने गरेको भए पनि अहिले भने चोरी भएर प्रयोग भईसकेको सामग्रीको विषयमा कस्तो कारवाही गर्ने भन्ने निर्णय नभएकोले कार्यपालिकाको वैठक बसेर थप कारवाहीको निर्णय हुने समेत नगरप्रमुख भुसालले बताए ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले नगरपालिकाहरुले सोझै चाइना स्टेटलाई नदीजन्य वस्तु विक्री वितरण गर्ने तर त्यसको विवरण प्रहरी प्रशासनलाई उपलब्ध नगराउँदा चोरी भए नभएको यकिन गर्न समेत कठिन हुने गरेको बताए ।
प्रहरीले गण्डकी प्रदेश ०४ ००१ ख ००७३ टिप्परले अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकाको जिम्मा लगाएको थियो भने अर्को एउटा जेसिबीलाई कावासोती १६ वडा कार्यालयको सिफारिसको आधारमा कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताए ।गत बर्ष पनि चाइना स्टेट कम्पनीले नदीजन्य वस्तु चोरी गरेको भन्दै चाइना स्टेट कम्पनीलाई कारवाही गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij