काठमाडौं : नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले गुन्डागर्दी गर्ने समूहलाई निगरानीमा राखेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई केन्द्र बनाएर आपराधिक गतिविधिमा लागेका समूहमाथि कार्यालयको टोलीले निगरानी थालेको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले कमान्ड सम्हालेसँगै उपत्यका विभिन्न क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्ने समूहलाई निगरानी गर्न थालिएको हो । बस्नेतले १८ माघदेखि अनुसन्धान कार्यालयको कमान्ड सम्हालेका छन् ।उपत्यकावासीलाई सुरक्षित महसुस गराउने गरी काम भइरहेको बस्नेत बताउँछन् । कुनै पनि अपराधका घटना घट्नुभन्दा सकेसम्म अपराध हुन नदिन प्रहरी खटिने एसएसपी बस्नेतको भनाइ छ ।
‘‘उपत्यकामा केही गुन्डागर्दी गर्ने समूहले आफ्नो अपराधको शैली परिवर्तन गरे पनि कुनै न कुनै रूपमा उपस्थिति देखाउन खोजेको सूचना हामीले पाएका छौँ, त्यस्ता समूहमाथि निर्मम भएर प्रहरी उत्रिन्छ,’’ उनले भने ।
विभिन्न क्षेत्रलाई आधार बनाएर अपराध गर्ने समूहमाथि अपरेसन चलाउने पिल्लर–४ का कमान्डर डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले विगतमा गुन्डागर्दीमा संलग्नहरूको सूची नै तयार पारेको छ ।यसअघि, पनि विभिन्न अपराधमा संलग्न त्यस्ता समूहको कुण्डली तयार पारेर उनीहरूको गतिविधिमाथि निगरानी थालिएको कार्यालयका एक अधिकारीले बताए ।
ती अधिकारीले भने, ‘‘पछिल्लो समय आपराधिक पृष्ठभूमिका युवाहरू आफ्नो समूह बलियो देखाउन सामाजिक सञ्जाल टिकटकमा उच्छृंखल भिडियो पोस्ट गर्नेदेखि विभिन्न बहानामा व्यवसायीलाई तर्साउने गरेको देखिन्छ । त्यस्ता व्यक्तिहरूको टिकटक अकाउन्टसमेत निगरानीमा राखेका छौँ ।’’
यी हुन् कार्यालयको सूचीको ‘हिट लिस्ट’मा परेका
उपत्यका अनुसन्धान कार्यालयको टोलीले विभिन्न क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा लागेका करिब ४५ जना गुन्डागर्दी गर्नेहरूको सूची तयार पारेको छ । उनीहरूको विगतको अपराधका घटनालाई आधार बनाएर पहिलो सूची तयार पारिएको हो ।
त्यसरी सूची तयार पारिएकाहरूमा सानो भर्याङका मिलन गुरुङ (चक्रे मिलन)देखि धादिङका राधे भनिने राधाकृष्ण भण्डारीसमेत छन् । उनीहरू दुवै अपराधको दुनियाँमा चर्चित नाम हुन् । चक्रे मिलनमाथि खुकुरी प्रहार गरेको अभियोगमा गण्डकी प्रदेशसभामा सांसदसमेत रहेका दीपक मनाङे जेल नै पुगेका छन् । करिब २० वर्ष अघिको घटनाका कारण उनको सांसद पदसमेत गुमेको छ ।
त्यस्तै, भण्डारी यसअघि प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डानाइके दिनेश अधिकारी (चरी)माथि नागढुंगामा गोली प्रहार गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरू अहिले देखिने गरी गुन्डागर्दीमा नलागे पनि समूह बनाएर आफ्नो उपस्थिति देखाउन टिकटकमार्फत उच्छृंखल भिडियो पोस्ट गर्ने गरेको प्रहरीको दाबी छ । राधे नेपाली कांग्रेसको तरुण दलबाट राजनीतिमा सक्रिय छन् । मिलन एमालेको राजनीतिमा सक्रिय छन् ।
उनीहरूबाहेक उपत्यका प्रहरी कार्यालय अन्यको गुन्डागर्दी गर्ने समूहको 'कुण्डली'समेत तयार पारेको छ । सूचीमा कलंकी क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा लाग्ने अभिषेक सिंह, न्युरोडलाई आधार बनाउने बब शर्मा, ठमेल क्षेत्रलाई आधार बनाउने सानुकान्छा गुरुङ र साजन गुरुङ, बालाजु क्षेत्रलाई आधार बनाउने दिपेश धिताल छन् ।
यसरी नै बसपार्क क्षेत्रलाई आधार बनाउने सुरेश डंगोल र सानुभाइ भनिने युवराज गुरुङ, बौद्ध क्षेत्रलाई आधार बनाउने श्याम लामा, गौशाला क्षेत्रलाई आधार बनाउने धिरेन प्रधानमाथि उपत्यका प्रहरीको टोलीले निगरानी थालेको छ ।
त्यस्तै, ललितपुर जिल्लालाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्न राजु बोगटीलाई समेत प्रहरीले निगरानीमा राखेको छ । श्याम लामा, रोधे भण्डारी र चक्रे मिलनका पछिल्ला टिकटक भिडियोमार्फत उनीहरूमाथि निगरानी थालेको छ । कार्यालयको प्रहरी टोलीले सूचीमा राखेकाहरू गुन्डागर्दी आरोपमा पटकपटक पक्राउ पर्दै छुट्दै आएकाहरू हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij