माडी : गैँडाको आक्रमणमा मानवीय हताहतीको एकपछिअर्को घटना भएसँगै माडीवासी आक्रोशित भएका छन् । गैँडाको आक्रमणबाट तीन साताको अवधिमै माडीका तीन जनाको श्रृङ्खलाबद्ध मृत्यु भएको हो ।
गैँडाको आक्रमणमा परी शुक्रबार मात्र माडी नगरपालिका–१, ध्रुवका ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट घाइते भएकी महतोलाई सुरूमा उपचारका लागि बसन्तपुरस्थित बघौडा अस्पताल ल्याइएकोमा थप उपचारका क्रममा शुक्रबार राति भरतपुर अस्पतालमा मृत्यु भएको थियो । गैँडाको आक्रमणबाट महतोका दुवै खुट्टाको तिघ्रा, कम्मर र छातीमा चोट लागेको थियो ।
यसअघि गैँडाकै आक्रमणमा गत माघ १ गते माडी–३ निवासी कृषक छविलाल बोटको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए । विगतमा मानिसहरुको बाक्लो बस्ती रहेको अमिलिया र धोबाहास्थित घाँसे मैदान क्षेत्रमा कृषि कार्यकै क्रममा महतो र बोटको मृत्यु भएको हो ।
त्यसैगरी, गैँडाकै आक्रमणबाट माघ ७ गते माडी–७ (हाल भरतपुर महानगरपालिका–५, विकासचोक) निवासी शिवराज भण्डारीको मृत्यु भएको थियो । माघ ३ गते बिहीबार भण्डारीलाई चितवन राष्ट्रिय निकुञ्जको माडी–१, ध्रुव पोस्टनजिक जङ्गली गैँडाले आक्रमण गरेको थियो । उनी भरतपुरबाट बा प्र ०६००३ प ४३३९ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा माडी जाँदै गर्दा आक्रमणमा परेका थिए ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्वका घटनाहरु समय–समयमा हुने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार साँझ परेपछि दुईपाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई सामूहिकरुपमा मात्र पठाउने गरिएको छ । समूहमा यात्रा गर्न या ठूला सवारीसाधनको पछिमात्रै यात्रा गर्न अनुरोध गरिएको उनले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij