काठमाडौं : अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहसाघुनघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–८ रनियापुर बस्ने ३७ वर्षीय रियाज अहमद खाँ, २३ वर्षीय खलिल अहमद रजा खाँ र २८ वर्षीय जिलानी खाँ रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै चितवन, कालिका नगरपालिका-६ गुम्बा चोकबाट अवैध लागूऔषध गाँजा ४ सय ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट र स्टेगन १८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खोलेसिमलबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने २७ वर्षीय समिर परियारको घर तलासी गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार समिरको खोजी गरिरहेको छ ।
चितवनकै भरतपुर महानगरपालिका–४ लंकु लक्ष्मी पथबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३९ ट्याब्लेट, प्रोमेथ ६७ ट्याब्लेट, बोमिन ३० ट्याब्लेट र नगद ९५ हजार ७ सय ५ रूपैयाँ सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–७ देवनगर घर भई सोही महानगरपालिका–४ लंकु लक्ष्मी पथ डेरा गरी बस्ने २५ वर्षीय कुशल बिक, २५ वर्षीया दिपा पुन मगर, सोही महानगरपालिका–७ बस्ने ३७ वर्षीय कृष्ण शर्मा र सोही महानगरपालिका–५ बस्ने २६ वर्षीय उज्वल न्यौपाने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij