अछाम : अछामको किशोरी मृत्यु प्रकरणमा यौन प्रस्ताव स्वीकार नगर्दा हत्या भएको खुलेको छ।ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुईजना किशोरले हत्या गरेको खुलेको हो।गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा मृत भेटिएकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ ।
यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुईजना किशोरले किशोरीको हत्या गरेको खुलेको छ।
पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।
प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरुले हत्या गरेको खुलेको हो । घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरु बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरु पनि पुगेका थिए । उनिहरु किशोरीहरुको फोन सम्पर्क मार्फत जङ्गल पुगेका हुन् ।
उहीहरु प्रेमी–प्रेमिका रहेको खुलेको छ । आरोपितहरुले जङ्गलमा मृतकसँग उपहार स्वरुप चुन्नि मागेका थिए । मृतक ईशराले चुन्नि दिए पनि सरस्वतीले चुन्नि उपहार लिन नमान्दा घटान घटेको देखिएको छ ।
सरस्वतीले चुन्नि नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोरले यौन प्रस्ताव समेत राखेका थिए । सरस्वतीले उनको यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुङ्गाले हानेर हत्या गरेका खुलेको हो ।सरस्वतीको हत्या भएको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुङ्गाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij