धनगढी : कैलालीको कैलारी गाउँपालिका ९ गदरियास्थित जनता माध्यमिक विद्यालयको प्रवेशद्वारमा रहेको गेट ढल्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । अर्को बालक घाइते भएका छन् । घटनालाई साढे १० लाखमा मिलाइएको पाइएको छ ।
विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीले जीर्ण फलामे गेट ढल्दा बिहीबार दिउँसो कैलारी गाउँपालिका ९ गदरियाका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको ज्यान गएको थियो । अर्का बालक, स्थानीय मुकेश चौधरीका ८ वर्षीय छोरा समिर चौधरी घाइते छन् । समिरको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्का अनुसार सो विद्यालयले प्रवेशद्वारमा फलामे गेट लगाएको थियो । जीर्ण बनेको गेटलाई रसीले बाँधेर राखिएको थियो । विद्यालयले माघ १० र ११ गतेका दिन जाडो बिदा दिएको थियो । त्यहाँकै स्थानीय रहेका ती बालकहरू त्यहाँ खेल्न पुगेका थिए । सो क्रममा ती बालकहरूलाई फलामे गेटले किचेको थियो ।
घटनापछि स्थानीयहरू आन्दोलित भए । शुक्रबार दिनभरी विद्यालय क्षेत्र तनावग्रस्त बन्यो । स्थानीय एवं मृतक र घाइतेका आफन्तजन मृतकका परिवारजनलाई क्षतिपूर्ति, घाइतेको उपचार, विद्यालय प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको राजीनामालगायत माग राखेर आन्दोलित बनेका थिए ।
आफन्तजन र विद्यालय पक्षसँग भएको छलफलपछि मृतकका आफन्तजनलाई क्षतिपूर्ति र घाइतेलाई उपचार गर्नेलगायत सहमति भएको जनाइएको छ ।प्रहरी निरीक्षक खड्का अनुसार मृतकका आफन्तलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने सहमति भएको छ । एक लाख नगद दिइएको छ, भने बाँकी ९ लाख माघ मसान्तभित्र दिइने बताइएको छ । त्यस्तै, ५० हजार रुपैयाँ कैलारी ९ का वडाध्यक्ष खेमराज चौधरीले दिने सहमति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, घाइते बालकको उपचार पनि विद्यालयले गर्ने भएको छ । यसका साथै उनको पठनपाठन जिम्मा पनि विद्यालयको रहने भएको छ ।
यसैबिच विद्यालयका प्रधानाध्यापक सीताराम चौधरीले पदबाट राजीनामा दिने बताएका छन् । सञ्चारकर्मीहरूसँगको संवादको क्रममा प्रअ चौधरीले आफूले नैतिक रूपमा राजीनामा दिएको बताए ।
स्थानीयले कैलारी ९ की वडा समिति सदस्यसमेत रहेकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष शान्ति चौधरीसहित पदाधिकारीहरूको राजीनामा माग गरेका छन् ।यसैबिच आक्रोशित स्थानीयले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शान्ति चौधरीले आफ्नो पदीय जिम्मेवारी निर्वाह नगर्दा घटना घटेको आरोप लगाउँदै उनलाई हातपात समेत गरेको प्रत्यक्षदर्शी बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij