Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

२६ नेपालीलाई क्रोएसियामा अलपत्र पार्ने गुडलक म्यानपावरका संजय पनेरुविरुद्ध पक्राउ पुर्जी जारी

२६ नेपालीलाई क्रोएसियामा अलपत्र पार्ने गुडलक म्यानपावरका संजय पनेरुविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : आकर्षक तलब सहितको रोजगारीको प्रलोभन देखाएर २६ नेपालीलाई क्रोएसियामा अलपत्र पार्ने म्यानपावर कम्पनीका सञ्चालविरुद्ध पक्राउ पुर्जी जारी भएको ९ दिन वितिसक्दा पनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

राजधानीको सामाखुसीमा रहेको गुडलक इन्टरनेशनल म्यानपावरका सञ्चालक सञ्जय पनेरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पुस २४ गते नै पक्राउ पुर्जी जारी भएको छ । तर, माघ ३ गतेसम्म पनि उनी पक्राउ पर्न सकेका छैनन् ।

सञ्चालक पनेरुले आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर विभिन्न नक्कली कागजात तयार पारी झण्डै तीन दर्जन नेपालीलाई क्रोएसिया पुर्याएका छन् ।विगत ६ महिनादेखि विचल्ली अवस्थामा रहेका उनीहरुले प्रहरीसमक्ष उजुरी पठाएपछि सञ्चालक पनेरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पीडितहरुका अनुसार म्यानपावर कम्पनिले आकर्षक रोजगारी र तलबको प्रलोभन देखाई विभिन्न नक्कली कागजात तयारी पारी क्रोशिया पठाएको थियो । क्रोयसियमा रहेका एक पीडितले बताए अनुसार अहिले पनि २६ जना नेपाली त्यहाँ बिचल्ली अवस्थामा रहेका छन् ।कति त नेपाल फर्किसकेका छन् भने नेपाल पनि फर्कन नसक्ने अवस्थामा रहेका २६ जना एकै कोठामा थुनिएर बसेका छन् ।

क्रोएसिया रोजगारीका लागि पुगेका उनीहरुले प्रति व्यक्ति १४ लाख रुपैयाँका दरले बुझाएको बताएका छन् । यता, म्यानपावर संचालक संजय पनेरु भने पीडितहरुबाट कुम्ल्याएको पैसा जग्गा जग्गामा लगानी गरेर अकुत आर्जन गरिरहेको बताइन्छ ।

नेताहरुसँग बसेको तस्विर देखाएर पीडितहरुलाई प्रभावमा पार्दै आएका पनेरुले शंकाष्पद र नक्कली कागजात बनाउने गरेको समेत खुलेको छ । उनले नक्कली कागजात तयार पारेकै कारण अन्य १४ जना नेपालीको पनि विचल्ली भएको छ ।जनही ४ लाख ६० हजार रुपैयाँका दरले रकम बुझाएका उनीहरुले कामदार पर्मिट नै नक्कली बनाएपछि क्रोएसियाले भिषा नदिएको पाइएको छ ।

गत असोजमा गुडलक म्यानपावरले क्रोएसिया पठाइदिने बहानामा ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । म्यानपावरका सञ्चालकले ५ लाख रुपैयाँ लिएर एक वर्षसम्म पनि विदेश नपठाएको भन्दै धनगढीका हेमराज भाटले उजुरी दिएका थिए ।पीडितले निवेदनमा उल्लेख गरे अनुसार संचालक पनेरुको निर्देशनमा म्यानपावरका एजेन्टले क्यु आर कोड पठाएको र सोही कोडमा आफूले रकम ट्रान्सफर गरिदिएको पीडितले बताएका थिए ।

२८ सेप्टेम्बर २०२३ मा अनलाइन ट्रान्सफर मार्फत २ लाख र नगद ३ लाख गरी जम्मा ५ लाख एजेन्टलाई दिइसकेको पीडितले बताए । तर, न उनी क्रोएसिया उड्न पाए न त उनले आफूले बुझाएको रकम नै फिर्ता पाए ।

गोर्खा जिल्ला स्थायी घर भएका पनेरु हाल काठमाडौंको सानोभर्याङमा बस्दै आएका छन् । उनले पीडितहरुसँग आफ्नै दाइ जगदिश्वर पनेरुको खातामा पैसा जम्मा गर्न लागाएको समेत खुलिसकेको छ ।क्रोएसियामा नेपाली विचल्ली बनाउने गुडलक म्यानपावरका संचालक सञ्जय पनेरुसँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij