काठमाडौं : जिल्ला अदालत काठमाडौंले रास्वपा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेको समयमा स्वर्णलक्ष्मी सहकारीबाट मिडियामा पैसा आएको आदेशमा उल्लेख गरेको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार जारी गरेको आदेशमा लामिछाने गोर्खा मिडियाको शेयर होल्डर र प्रबन्ध निर्देशक बन्नु अघि नै संयुक्त हस्ताक्षरमा चल्नेगरी खाता खोलिएको उल्लेख गरिएको हो ।
‘प्रतिवादी रवि लामिछाने गोर्खा मिडियामा शेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनु अघि नै प्रतिवादी लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन हुनेगरी खाता खोली सञ्चालनमा ल्याएको, निज प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोर्खा मिडिया नेटवर्कको सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखियो’ अदालतको आदेशमा भनिएको छ ।
लामिछानेले गोर्खा मिडियाको आर्थिक पाटोबारे आफूलाई थाहा नभएको बताउँदै आएका थिए । तर, उनी शेयर सदस्य बन्नु पहिलै संयुक्त हस्ताक्षरमा चल्नेगरी खाता खोलिएको पाइएको अदालतको आदेशमा भनिएको छ ।
लामिछानेको हस्ताक्षरमा काटिएको चेकबाट ९० लाख १६ हजार ६६० रूपैयाँ स्वर्णलक्ष्मीको खातामा भुक्तान गरिएबाट उनी कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको अदालतको आदेशमा उल्लेख छ ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij